एमालेलाई मुख्यमन्त्रीमा समर्थन गरेपछि राप्रपाका नेता उद्धव थापा पार्टीबाट निष्कासित

हिमाल प्रेस ४ भदौ २०८३ १६:१२ | Thursday, August 20, 2026
10
SHARES
एमालेलाई मुख्यमन्त्रीमा समर्थन गरेपछि राप्रपाका नेता उद्धव थापा पार्टीबाट निष्कासित

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेश संसदीय दलका नेता तथा सांसद उद्धव थापालाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको छ।

पार्टी केन्द्रको नीति र निर्देशन विपरीत बागमती प्रदेशमा नेकपा एमालेका सांसद किरण थापा मगरलाई मुख्यमन्त्री पदमा समर्थन जनाएपछि राप्रपाको केन्द्रीय कार्यसम्पादन समिति बैठकले उनीमाथि कारबाही गरेको हो। यसअघि पार्टीले सोधेको स्पष्टीकरणको जवाफ समेत थापाले बुझाएका थिएनन्।

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनका अनुसार थापालाई पार्टीको साधारण सदस्यका साथै प्रदेशसभा सदस्य पदबाट समेत पदमुक्त गर्न सिफारिस गर्ने निर्णय भएको छ।

लिङ्देनले साउन २० गतेको केन्द्रीय कार्यसम्पादन समितिले प्रदेश सरकारहरूमा सहभागी नहुने नीति लिएको जानकारी दिए।

उक्त निर्णयबारे साउन २१ गते बागमतीका १२ जना सांसदहरूलाई पार्टी कार्यालयमै बोलाएर जानकारी गराइएको र भदौ १ गते सरकारको पक्ष वा विपक्षमा संलग्न नहुन पुनः लिखित पत्राचार गरिएको थियो।

निष्कासित थापा २०७९ को निर्वाचनमा काठमाडौँ क्षेत्र नं. ८ (ख) बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए।

प्रकाशित: ४ भदौ २०८३ १६:१२ | Thursday, August 20, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast