काठमाडौँ- बारामा बलात्कारपछि हत्या गरिएकी तीन वर्षीया बालिका गरिमा चौधरीको न्यायको माग गर्दै काठमाडौँको माइतीघरमा प्रदर्शन भएको छ।
गरिमा चौधरीको बलात्कार तथा हत्याको विरोधमा नागरिक, युवा, विद्यार्थी तथा अधिकारकर्मीलगायत विभिन्न संघसंस्थाहरुले शनिबार काठमाडौँको माइतीघरमा विरोध प्रदर्शन गरेका हुन्।
प्रदर्शनकारीहरूले ‘बलात्कारीलाई फाँसी दे, फाँसी दिन सकिँदैन भने इन्काउन्टर गर’ जस्ता कडा कानुनी कारबाहीको माग गर्दै नाराबाजी गरेका छन्।
उनीहरुले ‘छोरी जन्मनु अपराध हो?’, जुन देशले आफ्ना बच्चाहरूलाई सुरक्षा दिन सक्दैन, त्यो देश विकासमा होइन लाजमा डुब्नुपर्छ’ लगायत लेखिएका प्लेकार्डहरू प्रदर्शन गरेका थिए।
त्यस्तै स्वतन्त्र आमा नेपालले बलात्कारपछि हत्या भएकी गरिमा चौधरीलाई न्याय माग्दै काठमाडौँको शान्तिबाटीमा प्रदर्शन गरेको छ।
घटनाका दोषीलाई कडाभन्दा कडा कारबाही गर्न माग गर्दै स्वतन्त्र आमा नेपाल नामक संस्थाको अगुवाईमा शनिबार प्रदर्शन गरिएको हो।
प्रदर्शनमा सहभागीहरुले बलात्कार र हत्या जस्ता जघन्य अपराधबिरुद्ध कडा कानून लागू गर्न माग गरेका छन्। उनीरुले ‘बलत्कारी र हत्यारालाई कडा कानूनी कारबाही गर, पीडितलाई न्याय दे’ लगायत लेखिएका प्लेकार्ड प्रदर्शन गर्दैै नारावाजी गरेका थिए।
बारा जितपुरसिमरा–१ दसधुरीकी तीन वर्षीया छोरी गरिमा चौधरीको बलात्कारपछि हत्या भएको खुलेपछि देशव्यापी विरोध भइरहेको छ ।
प्रहरीका अनुसार जितपुरसिमरा–१ दसधुरीकी मनमती चौधरीकी तीन वर्षीया छोरी गरिमा चौधरी साउन ३१ गते बिहान घरबाट हराएकी थिइन्। उनको शव मंगलबार एउटा घरको खाली कोठामा फेला परेको थियो।
उक्त घटनाको अनुसन्धानका क्रममा आरोपितहरूलाई तत्कालै पक्राउ गरिएको र पछिल्लो समय अभिभावकले जाहेरी दिएपछि सोही आधारमा थप चार जनालाई नियन्त्रणमा लिइएको गृहमन्त्री सुधन गुरुङले जानकारी दिएका छन्।



