तीन वर्षीया बालिका गरिमा हत्याको विरोधमा प्रदर्शन

हिमाल प्रेस ५ भदौ २०८३ १३:४५ | Friday, August 21, 2026
तीन वर्षीया बालिका गरिमा हत्याको विरोधमा प्रदर्शन

काठमाडौँ- बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१ की तीन वर्षीया गरिमा चौधरीको बलात्कारपछि हत्या भएको विरोधमा देशका विभिन्न स्थानमा प्रदर्शन भएको छ।

गरिमा हत्याको विरोधमा काठमाडौँ, वीरगञ्ज, काँकडभिट्टालगायतका स्थानमा प्रदर्शन भएको हो। aहत्यामा संलग्नहरूलाई यथाशीघ्र कडाभन्दा कडा कारबाहीको माग गर्दै काठमाडौँको माइतीघरमा प्रदर्शन भएको छ।

इन्डिपेन्डेन्ट मदर्स अप नेपालले माइतीघर मण्डलमा प्रदर्शन गरेको हो। उनीहरूले घटनामा संलग्न दोषीलाई कडा कारबाही गर्न माग गर्दै नाराबाजी गरेका थिए।

प्रदर्शनमा सहभागीहरूले ‘बलात्कारीलाई फाँसी दे’ लगायतका नारा लगाएका थिए। प्रदर्शनीपछि सहभागीहरूले माइतीघर मण्डलादेखि जिल्ला अदालत बबरमहलसम्म र्‍ यालीसमेत निकालेका थिए।

गरिमा हत्याको विरोधमा वीरगञ्जमा समेत प्रदर्शन भएको छ। घटनामा संलग्नलाई कडा सजायको माग गर्दै विद्यालयका छात्रछात्राहरूले प्रदर्शन गरेको हो। स्कुले बालबालिकाले जिल्ला प्रशासन कार्यालयअगाडि प्रदर्शन गर्दै नाराबाजी गरेका थिए।

त्यस्तै गरिमा हत्याको विरोधमा झापाको काँकडभिट्टमा पनि प्रदर्शन भएको छ। जनचेतना महिला केन्द्रको आयोजनामा मेचीनगर नगरपालिका क्षेत्रका विभिन्न संघसंस्थाका प्रतिनिधि र विद्यार्थीको सहभागिता रहेको विरोध र्‍यालीले काँकरभिट्टा बजार परिक्रमा गरेको थियो।

र्‍यालीमा ‘हत्या हिंसा बन्द गर, अन्याय अब सहिन्न, बलात्कारीलाई फाँसी दे, गरिमालाई न्याय दे’ जस्ता नारा लगाइएको थियो। र्‍यालीपछि आयोजित कोणसभालाई जनचेतना केन्द्रकी संयोजक राधाप्रधान कार्की र विद्यार्थीहरुले सम्बोधन गरेका थिए।

गरिमाको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले जीतपुरसिमरा–२ का १६ वर्षीय सुमन थापा र २४ वर्षीय प्राग्रेस चौधरीलाई पक्राउ गरेको छ। थापा ना १ ज ७७५८ नम्बरको म्याजिक गाडीका सहचालक र चौधरी उक्त गाडीका मालिक हुन्।

पक्राउ परेका थापा घटनामा संलग्न व्यक्तिलाई खोज्न भन्दै प्रहरीसँगै हिँडडुल गरिरहेका थिए। बालिकाको शव भेटिएपछि उनले ‘कसले हत्या गर्‍यो’ भन्दै घटनास्थल वरपर प्रहरीसँगै हिँडडुल गरिरहेका थिए। उनले बलात्कारपछि बालिकाको हत्या गरेको स्वीकार गरेको बताइएको छ।

मंगलबार (भदौ ३ गते) साँझ बारा प्रहरीले कुकुरसहितको टोली ल्याएर अनुसन्धान सुरू गरेको थियो। कुकुरले संकेत गरेपछि घटनास्थलमै रहेका थापालाई प्रहरीले नियन्त्रणम लिएको थियो।

मृतक बालिका जीतपुरसिमरा–२ स्थित सरस्वती आधारभूत विद्यालयमा भर्खरै प्ले ग्रुपमा भर्ना भएकी थिइन्।

आइतबार(साउन ३१ गते) बिहान करिब साढे ८ बजेबाट बेपत्ता भएकी गरिमाको शव घरबाट दुई सय मिटरनजिकै एउटा खाली घरमा कपडामा पोको पारेर फालिएको अवस्थामा मंगलबार साँझ प्रहरीले फेला पारेको थियो।

गाउँकै बीचमा रहेको खाली घरबाट दुर्गन्ध आउन थालेपछि स्थानीयले प्रहरीलाई खबर गरेको थियो। शव रहेको स्थानमा प्रहरीले तालिमप्राप्त कुकुरसहित खोजतलास गरेको थियो।

प्रकाशित: ५ भदौ २०८३ १३:४५ | Friday, August 21, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 + 19 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast