गरिमा हत्याको विरोधमा वीरगन्ज–पथलैया सडकखण्ड अवरुद्ध, बुबा–आमालाई काठमाडौँ ल्याइयो

हिमाल प्रेस ६ भदौ २०८३ १७:५६ | Saturday, August 22, 2026
गरिमा हत्याको विरोधमा वीरगन्ज–पथलैया सडकखण्ड अवरुद्ध, बुबा–आमालाई काठमाडौँ ल्याइयो

काठमाडौँ- तीन वर्षीया बालिका गरिमा चौधरीको हत्याको विरोधमा स्थानीयले शनिबार पनि वीरगन्ज–पथलैया सडकखण्ड अवरुद्ध गरेका छन्।

गरिमालाई न्याय दिलाउन माग गर्दै स्थानीयवासीले चौथो दिन पनि वीरगन्ज–पथलैया सडकको सिमरा खण्डमा टेन्ट टाँगेर धर्ना दिइरहेको प्रहरीले जनाएको छ।

यसअघि बिहीबार राति स्थानीय प्रशासन, राजनीतिक दलका प्रतिनिधि तथा जीतपुरसिमरा उपमहानगरपालिकाका जनप्रतिनिधिको उपस्थितिमा आन्दोलनरत पक्षसँग पाँच बुँदे सहमति भए पनि गरिमाको परिवारले उक्त सहमतिमा आफ्नो सहभागिता र सहमति नरहेको भन्दै आन्दोलनलाई निरन्तरता दिँदै आएको छ।

गरिमाको बुबा–आमाले वार्ताका लागि गृहमन्त्री सुधन गुरुङ आफैँ आउनुपर्ने अडान लिएका छन्। गृहमन्त्रीसँगै वार्ता गर्ने अडान लिएका उनीहरूलाई शनिबार काठमाडौँ ल्याउन लागिएको बताइएको छ।

बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१ भक्तिनगरकी गरिमा साउन ३१ गते बिहानदेखि सम्पर्कविहीन भएकी थिइन्।

खोजीका क्रममा भदौ २ गते आफ्नै घर नजिकैको एक घरमा विभत्स तथा अमानवीय अवस्थामा शव फेलापरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिए।

बालिका चौधरीको बलात्कारपछि हत्या भएको घटनामा संलग्न दोषीलाई कडाभन्दा कडा कारबाही गर्नुपर्ने माग राख्दै विभिन्न राजनीतिक दल र विभिन्न संघसंस्थाले पनि विरोध गर्दै आएका छन्।

घटनामा संलग्न रहेको आशंकामा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। गरिमा हत्याको विरोधमा देशभर प्रदर्शन भइरहेको छ।

प्रकाशित: ६ भदौ २०८३ १७:५६ | Saturday, August 22, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast