काठमाडौँ- सर्वोच्च अदालतले पत्रकार किशोर श्रेष्ठको बन्दीप्रत्यक्षीकरणसम्बन्धी रिट निवेदनमा श्रेष्ठलाई अदालतसमक्ष उपस्थित गराउन तथा उनीविरुद्धको अनुसन्धानसँग सम्बन्धित फाइलसमेत झिकाउने आदेश दिएको छ।
सर्वोच्चका न्यायाधीश बालकृष्ण ढकालको एकल इजलासले किशोरकी श्रीमती सरस्वतीले दायर गरेको रिट निवेदनमा यस्तो आदेश दिएको हो। इजलासले निवेदनमा उठाइएको विषयमा के कसो भएको हो र निवेदकको मागबमोजिम आदेश किन जारी हुन नपर्ने हो भन्नेबारे आधार र कारणसहित लिखित जवाफ पेस गर्न विपक्षीका नाममा आदेश दिएको छ।
आदेशमा भदौ १ गते बिहान १० बजेभित्र महान्यायाधिवक्ताको कार्यालयमार्फत सशरीर किशोरसहित लिखित जबाफ पेस गर्न भनिएको छ। सर्वोच्चले सोही मितिमा किशोरलाई इजलाससमक्ष उपस्थित गराई फिर्ता लैजाने व्यवस्था गर्न पनि आदेश दिएको छ।
बन्दीविरुद्ध परेको जाहेरी दरखास्तसहितको अनुसन्धान फाइलसमेत अदालतमा पेस गर्न भनिएको छ। इजलासले अनुसन्धानका क्रममा किशोरको घर तथा कार्यालयबाट बरामद भएका सीपीयू, ल्यापटप, आईप्याड र मोबाइल समेत लिएर उपस्थित हुन विपक्षीलाई आदेश दिएको छ।


