काठमाडौँ- राष्ट्रियसभाको बैठक आज बस्दैछ। अपराह्न १ः१५ बजे सिंहदरबारमा बस्ने बैठकमा ‘आन्तरिक वायुसेवाको दायित्वसम्बन्धी विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव पेस हुँदैछ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्क राज पौडेल ‘गनेस’ ले सो प्रस्ताव पेस गर्ने सम्भावित कार्यसूची रहेको छ। संघीय संसद सचिवालयका अनुसार, आज विभिन्न पाँचवटा संसदीय समितिको बैठक बस्दैछ। अर्थ समिति, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक बस्दैछ। कृषि तथा प्राकृतिक स्रोत समिति, पूर्वाधार विकास समिति र महिला तथा सामाजिक विकास समितिको बैठक बस्दैछ।
बिहान ९:३० बजे बस्ने अर्थ समितिको बैठकमा उपसमितिका प्रतिवेदनमाथि छलफल हुने कार्यक्रम छ। बिहान १० बजे बस्ने अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा ‘ अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक, २०८१’ मा परेको संशोधनहरूमाथि संशोधनकर्ता सांसदहरूसँग छलफल गर्ने कार्यसूची छ।
बिहान ११ बजे कृषि तथा प्राकृतिक स्रोत समितिको बैठकमा ‘जैविक तथा प्राङ्गारिक मलको प्रयोगको अवस्था, माटोको स्वास्थ्य र दिगो कृषि विकासमा यसको सम्भाव्यता सम्बन्धमा’ छलफल हुँदैछ।
पूर्वाधार विकास समितिको बैठक बिहान १० बजे बस्दैछ। बैठकमा खानेपानी आपूर्ति कार्य योजनाको प्रतिवेदनमाथि छलफल गरिँदैछ। बिहान ११ बजेका लागि तय भएको महिला तथा सामाजिक विकास समितिको बैठकमा ‘राष्ट्रिय दलित आयोगको काम कारबाही तथा प्रगति’ सम्बन्धमा छलफल हुने कार्यक्रम छ।


