मुस्ताङ– लमजुङको बेँसीसहरबाट मनाङ हुँदै थोरङला पास छिचोल्दै पछिल्लो दुई सातामा ७७२ जना विदेशी पर्यटक मुस्ताङ भित्रिएका छन् ।
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना, इलाका संरक्षण कार्यालय मुस्ताङको जोमसोमस्थित चेकपोस्टले भारी हिमपातपछिको दुई सातामा ४३ जना सार्क राष्ट्र र ७२९ जना अन्य राष्ट्रका विदेशी पर्यटक मुस्ताङ भित्रिएको जनाएको छ ।
समुद्री सतहको पाँच हजार ४१६ मिटरको उचाइमा अवस्थित राउण्ड अन्नपूर्ण चक्रीय पदमार्गको थोरङला पास पिक छिचोल्दै विदेशी पर्यटक मनाङ हुँदै मुक्तिनाथसम्म निस्कन्छन् । यो पदमार्ग विदेशी पर्यटकका लागि साहसिक र जोखिमपूर्ण पदमार्गका मानिन्छ ।
अध्यक्ष गुरुङका अनुसार थोरङला पास हुँदै दैनिक सय बढी पर्यटक मुक्तिनाथ निस्किने गरेका छन् ।
बेनी–जोमसोम सडकमार्गबाट आउने पर्यटक घटे पनि थोरङला पास गरी आउने विदेशी पर्यटकको उपस्थितिले मुक्तिनाथका धेरैजसो होटलमा पर्यटक भरिन थालेको उनको भनाइ छ ।
यस वर्षको नोभेम्बर अन्तिमसम्म मनाङबाट थोरङला पासगरी विदेशी पर्यटक मुस्ताङ आउने सिजन भएको अध्यक्ष गुरुङले बताए।




