काठमाडौँ- राप्रपा सांसद खुश्बु ओलीले विगत ३५ वर्षमा हुन नसकेका कामहरू गरेर उदाहरण दिन सरकारलाई सुझाव दिएकी छन्।
शुक्रबार प्रतिनिधिसभा बैठकमा सांसद ओलीले ३५ वर्षसम्म विगतका नेताहरूले के गरे भनेर प्रश्न गर्नुको साटो अब ३५ वर्षमा हुन नसकेका कामहरू गरेर उदाहरण प्रस्तुत गर्न सरकारलाई सुझाव दिएकी हुन्।
उनले ग्यास र पेट्रोलको मूल्य वृद्धि भइरहने पुरानै समस्या भएकाले सरकारले समाधानमुखी भएर विद्युतीय चुलोमा लाग्ने भन्सार र विद्युत महसुल÷भ्याट हटाउनुपर्ने उल्लेख गरिन्।
सरकारले स्वदेशमै युवाहरूलाई रोक्ने नीति लिने भने पनि देशमै उद्यम गरिरहेका युवाहरूलाई लक्षित गरी राइड सेयरिङ सेवामा करको भार कायम राख्नु विरोधाभासपूर्ण रहेकाले यसलाई हटाउन उनले माग गरिन्। उनले राजदूत चयनको प्रक्रिया पारदर्शी हुनुपर्ने समेत बताइन्।
सांसद ओलीले सीमासम्बन्धी प्रधानमन्त्रीको अभिव्यक्ति नसच्याएसम्म संसदमा विरोध जारी रहने स्पष्ट पारिन्।
उनले सुनसरी र सिरहामा हालै भएको घटनामा मृतक र घाइते परिवारसँग भएका सहमतिको कार्यान्वयनका लागि ध्यानाकर्षण गराइन्।


