जापान- जापानको हिरोसिमा सहरले अमेरिकी आणविक बम आक्रमणको ८१औँ स्मृति दिवस मनाउँदै विश्व समुदायलाई आणविक हतियारको खतराबारे पुनः सचेत गराएको छ।
यस अवसरमा हिरोसिमाका मेयर काजुमी मात्सुईले प्रमुख शक्तिहरूबीच बढ्दो सैन्य प्रतिस्पर्धा र आणविक प्रतिरोधको अवधारणाप्रति तीव्र चिन्ता व्यक्त गर्दै आणविक हतियारलाई सुरक्षा र प्रतिरोधको माध्यमका रूपमा प्रस्तुत गर्ने प्रवृत्तिले विश्वलाई फेरि हिरोसिमा वा नागासाकीजस्तै त्रासदीतर्फ धकेल्न सक्ने चेतावनी दिए।
हिरोसिमा शान्ति स्मारक पार्कमा आयोजित समारोहमा करिब ५० हजार मानिसको सहभागिता रहेको थियो। संयुक्त राज्य अमेरिका, इरानलगायत करिब १२० देश तथा क्षेत्रका प्रतिनिधिहरू पनि कार्यक्रममा उपस्थित थिए। सन् १९४५ मा अमेरिकी बी-२९ बमवर्षक विमानले हिरोसिमामाथि आणविक बम खसालेको समय बिहान ८:१५ बजे एक मिनेट मौनधारण गरिएको थियो भने शान्तिको प्रतीकस्वरूप घण्टी बजाइएको थियो।
समारोहमा प्रस्तुत शान्ति घोषणामा मेयर मात्सुईले विश्वका केही राजनीतिक नेतृत्वले अझै पनि आणविक प्रतिरोधलाई यथार्थवादी सुरक्षा अवधारणाका रूपमा स्वीकार गरिरहेको उल्लेख गर्दै यस्तो सोचले हिंसालाई वैधानिकता प्रदान गर्ने र आणविक हतियारविहीन विश्वको लक्ष्यलाई थप टाढा धकेल्ने बताए।
उनले विगतका पीडादायी अनुभवबाट शिक्षा लिन र शान्ति स्थापनाका लागि सक्रिय भूमिका निर्वाह गर्न विश्व नागरिकहरूलाई आह्वान गरे।


