काठमाडौँ – पश्चिम एसियाको भूराजनीतिमा एउटा नयाँ तर खतरनाक समीकरण बनिरहेको छ भन्ने चेतावनी इजरायलका डायस्पोरा मामिलामन्त्री अमिचाइ चिक्लीले दिएका छन्।
जुन १७ मा इजरायलको १०३ एफएम रेडियोसँगको अन्तर्वार्तामा उनले टर्की, कतार र पाकिस्तानबीच विकसित भइरहेको रणनीतिक सहकार्यलाई ‘नयाँ कट्टर सुन्नी एक्सिस अफ इभिल’ भनेर सम्बोधन गर्दै यसलाई अहिलेसम्म देखिएका सबै गठबन्धनभन्दा बढी खतरनाक बताएका थिए।
‘हाम्रा आँखा अगाडि नै एउटा नयाँ एक्सिस उदाइरहेको छ,’ चिक्लीले भनेका थिए। यसलाई उनले इजरायलमात्र नभई पश्चिम एसिया, अन्तर्राष्ट्रिय सुरक्षा र विश्व शान्तिका लागि समेत गम्भीर चुनौतीका रूपमा चित्रण गरेका छन्।
टर्कीकी पत्रकार उजय बुलुटले जुलाई २९ मा जेएनएस (ज्यूइश न्यूज सिन्डिकेट) मा प्रकाशित विश्लेषणात्मक लेखमा चिक्लीका यिनै अभिव्यक्तिलाई आधार बनाएर विस्तृत विश्लेषण गरेकी छन्।
लेखमा कतार र टर्कीलाई मुस्लिम ‘ब्रदरहुड’ का प्रमुख राज्य प्रायोजकका रूपमा चित्रण गरिएको छ भने पाकिस्तानलाई विश्व आतंकवादको महत्वपूर्ण केन्द्रमध्ये एक भएको दाबी गरिएको छ।
यी तीन देशको सहकार्य केवल कूटनीतिक वा आर्थिक सम्बन्धमा सीमित नभई कट्टर इस्लामवादी समूहहरूको प्रभाव विस्तार, क्षेत्रीय अस्थिरता र अन्तर्राष्ट्रिय सुरक्षामा दीर्घकालीन असर पार्ने सम्भावना बोकेको लेखकको निष्कर्ष छ।
मुस्लिम ‘ब्रदरहुड’ : विचारधाराको जरा र विश्वव्यापी सञ्जाल
लेखमा मुस्लिम ब्रदरहुडको स्थापना सन् १९२८ मा इजिप्टमा भएको उल्लेख गर्दै संस्थापक हसन अल–बन्नाले जिहादलाई इस्लामको अनिवार्य कर्तव्यका रूपमा व्याख्या गरेको दाबी गरिएको छ।
अल–बन्नाले ‘द वे अफ जिहाद’ नामक पुस्तकमा जिहादलाई अविश्वासीहरूसँग लडाइँ, उनीहरूको शक्ति ध्वस्त पार्ने, सम्पत्ति लुट्ने, पूजास्थल नष्ट गर्ने र मूर्तिहरू तोड्ने प्रयासका रूपमा वर्णन गरेका थिए।
उनको विचारमा इस्लामको प्रकृति हावी हुने हो, हावी हुन दिने होइन, यसको उद्देश्य सम्पूर्ण पृथ्वीमा आफ्नो कानून लागू गर्नु र शक्ति विस्तार गर्नु हो।
दशकौंको अवधिमा ब्रदरहुडसँग सम्बन्धित हिंसात्मक गतिविधिहरू देखिए। सन् १९४८ मा इजिप्टका तत्कालीन प्रधानमन्त्री महमुद फाह्मी अल–नुक्राशीको हत्या यसको उदाहरण हो।
सन् २०१२–२०१३ मा मोहम्मद मोर्सीको शासनकालमा धार्मिक हिंसा बढेको, कोप्टिक क्रिस्चियनहरूमाथि आक्रमण भएको र कम्तीमा ४२ चर्च जलाइएको घटनाहरू लेखमा समेटिएका छन्। ब्रदरहुडको सर्वोच्च गाइड मोहम्मद बादीले नयाँ इस्लामी खलिफा स्थापना गर्ने र शरीया लागू गर्ने लक्ष्य राखेको दाबी गरिएको छ।
अहिले यो संगठन ७० भन्दा बढी मुस्लिम र गैर–मुस्लिम देशमा राष्ट्रिय आन्दोलनका रूपमा सक्रिय छ।
कतार : सफ्ट पावर र प्रचारको केन्द्र
कतारलाई मुस्लिम ब्रदरहुडको प्रमुख राजनीतिक हब र वित्तीय प्रायोजकका रूपमा चित्रण गरिएको छ। अनुसन्धानकर्ता क्लौडिया दे मार्टिनोका अनुसार दोहाले ब्रदरहुडको नीति दृष्टिकोण अपनाएको छ र अल जजिरा नेटवर्कमार्फत यसका विचारहरू विश्वभर फैलाइरहेको छ।
युसुफ अल–करदावीजस्ता ब्रदरहुडका प्रमुख विद्वानलाई अन्तर्राष्ट्रिय मञ्च प्रदान गरिएको छ।
कतारले इन्टरनेसनल युनियन अफ मुस्लिम स्कलर्स (आईयूएमएस) लाई पनि होस्ट गर्छ, जसले करिब ९० देशमा गतिविधि गर्छ। यसले सानो देश कतारलाई आफ्नो सीमित भूराजनीतिक प्रभावभन्दा बाहिर सफ्ट पावर प्रक्षेपण गर्न मद्दत गरेको दाबी छ।
अनि टर्कीलाई हमासको सुरक्षित आश्रयस्थल र क्षेत्रीय विस्तारको रुपमा व्याख्या गरिएको छ। राष्ट्रपति रेचेप तैयप एर्दोगानको नेतृत्वमा टर्की हमासका लागि सुरक्षित आश्रयस्थल बनेको आरोप लेखमा छ। हमास मुस्लिम ब्रदरहुडको प्यालेस्टिनी शाखा हो र अमेरिकी सरकारद्वारा विदेशी आतंकवादी संगठनका रूपमा सूचीकृत छ।
जेरुसलेम सेन्टर फर पब्लिक अफेयर्सको २०२१ को प्रतिवेदनअनुसार इस्तानबुलस्थित हमासको मुख्यालयले सयौँ आतंकवादी हमला निर्देशित गरेको र लाखौँ डलर लन्ड्रिङ गरेको छ। वरिष्ठ अधिकारीहरू (जसमध्ये केही इजरायलबाट कैदी साटासाटमा रिहा भएका) टर्कीबाट इजरायलविरुद्ध गतिविधि सञ्चालन गर्छन्।
केहीलाई टर्कीको नागरिकता समेत दिइएको छ। हालैका रिपोर्टहरू अनुसार हमासले आफ्ना केही गुप्त गतिविधिहरू कतारबाट टर्कीतर्फ स्थानान्तरण गर्न थालेको छ भने नेतृत्व कतारमै रहने गरेको छ।
टर्कीले अफ्रिका र मध्यपूर्वमा आफ्नो सैन्य तथा राजनीतिक प्रभाव निरन्तर विस्तार गरिरहेको दाबी छ।
सुडानमा ओटोमनकालीन सुआकिन बन्दरगाह पुनर्निर्माणको सम्झौता (सन् २०१७) देखि सोमालियामा आफ्नो सबैभन्दा ठूलो विदेशी सैनिक अड्डा क्याम्प टर्कसोम स्थापना (सन् २०१७) सम्मका गतिविधि उल्लेख छन्। यो अड्डाले हजारौँ सोमाली सैनिक तालिम दिन्छ र टर्कीको अफ्रिका रणनीतिको मुख्य केन्द्र बनेको छ।
लिबियामा सैन्य हस्तक्षेप र सिरियामा विद्रोही समूहहरूलाई सहयोग गरेको आरोप पनि लेखमा समेटिएको छ। यी गतिविधिहरू टर्कीको दीर्घकालीन क्षेत्रीय प्रभाव विस्तार योजनाको हिस्सा हुन् भन्ने लेखकको तर्क छ।
त्यसमा पाकिस्तानलाई दशकौँदेखि विभिन्न आतंकवादी संगठनहरूको सुरक्षित आश्रयस्थलका रूपमा चित्रण गरिएको छ। ओसामा बिन लादेन पाकिस्तानको एबोटावादमा लामो समयसम्म लुकेर बसेको घटना, लश्कर–ए–तैयबा र त्यससँग आबद्ध समूहहरूमाथिका आरोप, तथा सुरक्षा संयन्त्रले केही समूहलाई रणनीतिक उद्देश्यका लागि प्रयोग गर्ने गरेको युरोपेली अध्ययन संस्थाको प्रतिवेदन उद्धृत गरिएको छ।
ग्लोबल टेरोरिज्म इन्डेक्स–२०२६ अनुसार पाकिस्तान यस वर्ष आतंकवादबाट सबैभन्दा बढी प्रभावित देश बनेको छ। सन् २०२५ मा १,१३९ जनाको मृत्यु र १,०४५ घटना दर्ता भएका थिए, जुन २०१३ पछिको उच्चतम स्तर हो।
तेह्रिक–ए–तालिबान पाकिस्तान (टीटीपी) र बलोचिस्तान लिबरेसन आर्मी (बीएलए) मुख्य जिम्मेवार मानिएका छन्।
पूर्वपाकिस्तानी कूटनीतिज्ञ अब्दुल बासितको भारतविरुद्ध आणविक हतियार प्रयोगसम्बन्धी विवादास्पद अभिव्यक्ति पनि लेखमा समावेश छ। लेखिकाले विश्व व्यवस्थाका लागि उदीयमान जोखिम भन्दै यसमा निश्कर्ष निकालेकी छन्।
उनका अनुसार कतार, टर्की र पाकिस्तानले प्रवर्द्धन गर्ने विचारधारा, मुस्लिम ब्रदरहुडप्रतिको समर्थन तथा उनीहरूका गतिविधिले आधुनिक लोकतन्त्र, राष्ट्रिय सार्वभौमिकता र अन्तर्राष्ट्रिय सुरक्षामाथि गम्भीर चुनौती सिर्जना गरिरहेका छन्।
चिक्लीले यसलाई इरानको शिआ एक्सिस कमजोर भएपछि उदाएको नयाँ सुन्नी एक्सिसका रूपमा हेरेका छन्, जसले क्षेत्रीय सन्तुलन परिवर्तन गर्न सक्छ। कतारको वित्तीय शक्ति, टर्कीको सैन्य क्षमता र पाकिस्तानको आणविक हैसियत मिलेर शक्तिशाली संयोजन बन्ने सम्भावना पनि विश्लेषणमा उठाइएको छ।
विश्व शान्ति र क्षेत्रीय स्थिरताका लागि यस्ता गठबन्धनहरूको निगरानी आवश्यक रहेको विश्लेषकहरूको मत छ।
(जेएनएसमा प्रकाशित टर्कीकी पत्रकार उजय बुलुटको विश्लेषणात्मक लेख र त्यसमा उद्धृत इजरायली मन्त्री अमिचाइ चिक्लीका अभिव्यक्तिका आधारमा तयार गरिएको हो। लेखमा गरिएका आरोप र निष्कर्ष सम्बन्धित लेखक तथा उद्धृत स्रोतका दाबी हुन्।)


