काठमाडौँ- भारत र जापानबीच समुद्री सहयोगसहित सुरक्षा सम्बन्ध सुदृढ बनाउने विषयमा सहमति भएको छ।
नयाँ दिल्लीमा दुवै देशका रक्षा मन्त्रीहरूको बिहीबार बसेको बैठकमा सुरक्षा सम्बन्ध सुदृढ बनाउने सहमति भएको हो।
भारतका रक्षा मन्त्री राजनाथ सिंह र उनका जापानीसमकक्षी सिन्जिरो कोइजुमीबीचको वार्तापछि जारी संयुक्त विज्ञप्तिमा समुद्री सुरक्षा सहयोगसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको उल्लेख छ।
दुवै देश संयुक्त राज्य अमेरिका र अस्ट्रेलियासँगै क्वाड सुरक्षा गठबन्धनका सदस्य हुन्। यो समूहलाई हिन्द महासागर र फराकिलो एशिया–प्रशान्त क्षेत्रमा चीनको विस्तारित उपस्थितिलाई सन्तुलनमा राख्ने प्रयासका रूपमा हेरिन्छ।
‘दुवै मन्त्रीहरूले स्वतन्त्र र खुला इन्डो–प्यासिफिक रणनीति साकार पार्न रक्षा सहयोगलाई अझ गहिरो बनाउने आफ्नो प्रतिबद्धता दोहोर्याए,’ संयुक्त विज्ञप्तिमा भनिएको छ, ‘यस्तो सहयोग जापान र भारतका लागि मात्र होइन, क्षेत्र र अन्तर्राष्ट्रिय समुदायका लागि पनि अत्यन्त महत्त्वपूर्ण छ।’
नयाँ दिल्लीले टोकियोको पूँजी र प्रविधिलाई व्यापकरूपमा आकर्षण गर्न चाहेको छ, जसले भारतलाई घरेलु सैन्य हार्डवेयर उद्योग निर्माण गर्ने प्रयासमा सहयोग पुर्याउने विश्वास भारतको छ।
विज्ञप्तिमा भनिएको छ, ‘दुवै देशले नौसेना जहाज निर्माण र डिजाइनमा संयुक्त विकासको अन्वेषण गर्नुपर्छ। यसमा टोकियोको प्राविधिक विशेषज्ञता र नयाँ दिल्लीको ‘मेक इन इन्डिया’ पहलअन्तर्गतको उत्पादन क्षमतालाई संयोजन गर्नुपर्छ।’
कोइजुमीको यो भ्रमण प्रधानमन्त्री नरेन्द्र मोदीले जुलाईमा जापानी समकक्षी सानाए ताकाइचीलाई आयोजना गरेपछि आएको हो। त्यस बेला उनीहरूले चीनको प्रभुत्व रहेको महत्वपूर्ण खनिज क्षेत्रमा अझ नजिकबाट सहकार्य गर्ने सहमति जनाएका थिए।
त्यस बैठकपछि ताकाइचीले जापान र भारत ‘अर्थतन्त्रको हतियारीकरण तथा गैर–बजार नीति र अभ्यास’ जस्ता चुनौतीहरूको सामना गरिरहेका चेतावनी दिएका थिए।
चीनको विदेश मन्त्रालयले मोदी र ताकाइचीको बैठकपछि टिप्पणी गर्दै भनेको थियो, ‘अन्तर्राष्ट्रिय सहयोगले ‘तेस्रो पक्षको हितलाई निशाना बनाउनु वा हानि पु¥याउनु हुँदैन। यसलाई विशेष समूह बनाउने वा द्वन्द्व बढाउने बहानाका रूपमा प्रयोग गर्नु हुँदैन।’- रासस/एएफपी


