काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद रन्जु न्यौपानेले आफ्नो निर्वाचन क्षेत्र काठमाडौँ-१ अन्तर्गत वडा नं. ११ मा रहेको विश्व निकेतन माध्यमिक विद्यालयको निरीक्षण तथा अवलोकन गरेकी छन्।
विद्यालय भ्रमणका क्रममा सांसद न्यौपानेले विद्यालयको समग्र अवस्था, शैक्षिक वातावरण, भौतिक पूर्वाधार, व्यवस्थापन तथा विद्यार्थीमैत्री शिक्षण अभ्यासबारे जानकारी लिएकी थिइन्।
भ्रमणका क्रममा उनले विद्यालयका प्रधानाध्यापक हेरम्बराज कँडेल, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, शिक्षक तथा विद्यार्थीहरूसँग भेटघाट गरी विद्यालयले हासिल गरेका उपलब्धि, गुणस्तरीय शिक्षण, आवश्यक पूर्वाधार विस्तार, विद्यार्थीको सिकाइ वातावरण र आगामी आवश्यकताबारे छलफल गरेको बताइन्।
सांसद न्यौपानेले शिक्षा राष्ट्र निर्माणको सबैभन्दा बलियो आधार भएकाले विद्यालयलाई अझ गुणस्तरीय, सुरक्षित र विद्यार्थीमैत्री बनाउन आवश्यक समन्वय, सहकार्य र पहलमा आफू सधैँ प्रतिबद्ध रहने उल्लेख गरिन्।


