काठमाडौँ- संघीय संसद्को संसदीय सुनुवाइ समितिले नेपाल सरकारबाट विभिन्न १३ देशका लागि सिफारिस भएका प्रस्तावित राजदूतहरूको दसैँअघि नै सुनुवाइ टुंग्याउने गरी प्रक्रिया अघि बढाएको छ।
समितिको बिहीबार बसेको बैठकले प्रस्तावित राजदूतहरूको सुनुवाइको प्रक्रिया सुरु गर्दै १० दिनको समय दिई उजुरी आह्वान गर्ने निर्णय गरेको हो।
समितिका सभापति बोधनारायण श्रेष्ठले प्रस्तावित राजदूतहरूको बायोडाटा अध्ययन, उनीहरूले पेस गर्ने कार्ययोजना र प्राप्त उजुरीलाई मुख्य आधार बनाएर सुनुवाइ अघि बढाइने बताए।
उनका अनुसार प्रस्तावित राजदूतहरूको बायोडाटा समितिमा प्राप्त भइसकेकाले त्यसको अध्ययन तत्काल अघि बढाउन सकिनेछ। त्यस्तै, उनीहरूले पेस गर्ने नतिजामा आधारित कार्ययोजनाको अध्ययन पनि उजुरीको समयावधिसँगै अघि बढाउन सकिने सभापति श्रेष्ठले बताए।
उनले उजुरीबाहेक समितिले गर्नुपर्ने तयारीका कामलाई अघि बढाउँदै सुनुवाइ प्रक्रिया सकेसम्म छिटो टुंग्याउने तयारी रहेको बताए।
यही असोज २ गते बसेको मन्त्रिपरिषद्को बैठकले भारत, चीन र संयुक्त राज्य अमेरिकासहित १३ देशमा राजदूत सिफारिस गरेको थियो।


