प्रतिनिधिसभा बैठक आज बस्दै

हिमाल प्रेस १९ साउन २०८३ ६:२५ | Tuesday, August 4, 2026
2
SHARE
प्रतिनिधिसभा बैठक आज बस्दै सिंहदरबारस्थित सङ्घीय संसद् भवनमा बुधबार बसेको प्रतिनिधिसभा बैठकमा सहभागी सांसदहरू। तस्बिर : रासस

काठमाडौँ- प्रतिनिधिसभाको बैठक आज १ः०० बजे बस्दै छ । आज बस्ने प्रतिनिधिसभाको बैठकमा विभिन्न प्रतिवेदन पेस गर्ने तथा जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथि छलफल गर्ने सम्भावित कार्यसूची तय गरिएको छ ।

बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘आदिवासी जनजाति आयोगको छैटौँ वार्षिक प्रतिवेदन’ पेस गर्नुहुने कार्यसूची रहेको छ ।

आजको बैठकमा नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले प्रस्तुत गरेको जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथि छलफल हुनेछ । सांसद आङ्देम्बेले वास्तविक भूमिहीन, सुकुमवासी तथा अव्यवस्थित बसोबासीको पहिचान गरी नागरिकको संरक्षण र पुनःस्थापनाका लागि सरकारले आवश्यक व्यवस्था मिलाउनुपर्ने मागसहितको प्रस्ताव प्रस्तुत गर्नेछन् । सो प्रस्तावमा सुरक्षित आवास, आधारभूत सेवा, खाद्य, स्वास्थ्य, शिक्षा र जीविकोपार्जनको निरन्तरतालाई ध्यान दिँदै उचित क्षतिपूर्ति, स्थायी पुनःस्थापनाको प्रत्याभूति दिलाउन र वास्तविक भूमिहीन एवं सुकुमवासीलाई यथाशीघ्र लालपूर्जा वितरण गर्नुपर्ने विषयहरू समेटिएका छन् । यस प्रस्तावको समर्थकमा सांसदहरू ऐनबहादुर महर, युवराज दुलाल र आरेन राई छन् ।

प्रतिनिधिसभा बैठकका अतिरिक्त आज सङ्घीय संसद्का विभिन्न पाँच वटा संसदीय समितिहरूको बैठक समेत बस्ने कार्यसूची रहेको छ । सङ्घीय संसद् सचिवालयका अनुसार आज अर्थ, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित, राज्य व्यवस्था तथा सुशासन र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दै छ । बिहान १०ः०० बजे बस्ने अर्थ समितिको बैठकमा ‘नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न बनेको विधेयक’माथि दफाबार छलफल जारी रहनेछ भने सोही समयमा बस्ने उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा ‘खाना पकाउने ग्यासको आपूर्ति व्यवस्थापन सम्बन्धमा’ छलफल गर्ने कार्यक्रम तय गरिएको छ ।

यस्तै, बिहान ११ः०० बजे बस्ने राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साबिक व्यवस्था जगाउनेसम्बन्धी विधेयक, २०८३’ उपर सैद्धान्तिक र दफावार छलफल गरिनेछ भने कार्यविधि मस्यौदा तर्जुमा उपसमितिको प्रतिवेदनका सम्बन्धमा पनि छलफल हुनेछ। यसैगरी, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा ‘पर्यटन विधेयक, २०८१’ सम्बन्धमा मन्त्रालयसँग सैद्धान्तिक छलफल गर्ने कार्यसूची रहेको छ भने सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा समितिका पूर्वसभापति रामनारायण विडारीसँग सरकारी आश्वासनका सम्बन्धमा छलफल गर्ने कार्यक्रम रहेको छ ।

प्रकाशित: १९ साउन २०८३ ६:२५ | Tuesday, August 4, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen + 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast