प्रतिनिधिमूलक तस्बिर
काठमाडौँ – अमेरिकाको इडाहो राज्यको ट्विन फल्स सहरस्थित ‘इन–एन–आउट बर्गर’ रेस्टुरेन्टमा भएको गोलीकाण्डमा परी तीन जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्।
स्थानीय अधिकारीका अनुसार घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको छ।
ट्विन फल्स सहरका सार्वजनिक सूचना संयोजक जोशुआ पाल्मरका अनुसार प्रहरीले रेस्टुरेन्ट नजिकैको क्षेत्रमा गोली चलाउने आशंका गरिएका व्यक्तिको शव फेला पारेको छ।
यद्यपि, मृत्यु हुने तीन जनामध्ये ती व्यक्ति समावेश छन् वा छैनन् भन्नेबारे तत्काल पुष्टि भएको छैन।
ट्विन फल्सका प्रहरी प्रमुख म्याथ्यु हिक्सले पत्रकार सम्मेलनमा घटनापछि समुदायमाथिको तत्कालीन जोखिम टरेको विश्वास गरिएको बताए। प्रहरीले घटनामा संलग्न व्यक्तिको पहिचान र गोली चलाउनुको कारणबारे अनुसन्धान गरिरहेको छ।
व्यस्त व्यापारिक क्षेत्रमा रहेको उक्त रेस्टुरेन्टमा स्थानीय समयअनुसार दिउँसो करिब २ बजे गोली चलेको थियो। घटनाका बेला सो क्षेत्रमा सयौँ मानिस उपस्थित रहेको पाल्मरले बताए।
पीडितका परिवारलाई जानकारी दिने प्रक्रिया जारी रहेकाले प्रहरीले मृतक तथा घाइतेको नाम, उमेरलगायत विवरण सार्वजनिक गरेको छैन। घटनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ।-रासस/सिन्ह्वा


