काठमाडौँ- बाढी पूर्वानुमान महाशाखाका अनुसार आज काठमाडौँ उपत्यकासहित विभिन्न जिल्ला भई बहने ससाना नदीहरूमा बाढीको जोखिम रहेको छ।
आज बिहानको मापनअनुसार कोशी, नारायणी, बागमती, कर्णाली, महाकाली र यिनका सहायक नदीहरूका साथै कन्काई, कमला, बबई, पूर्वी राप्ती र पश्चिम राप्ती नदीको बहाव भने सतर्कता तहभन्दा तलै रहेको छ।
महाशाखाका अनुसार आज सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, ललितपुर, भक्तपुर, काठमाडौँ, गोरखा, लमजुङ, कास्की, पर्वत, म्याग्दी, बागलुङ र आसपासका जिल्ला भई बहने ससाना नदीहरूमा बहाव उल्लेख्य बढ्नेछ। यी नदीहरूमा आकस्मिक बाढीको मध्यम जोखिमको सम्भावना रहेकाले आसपासका बासिन्दालाई सतर्कता अपनाउन भनिएको छ।
भोलि र पर्सी गण्डकी तथा लुम्बिनी प्रदेश भई बहने केही ससाना नदीहरूमा पनि बहाव आकस्मिक रूपमा बढ्न सक्ने पूर्वानुमान महाशाखाले जनाएको छ।


