काठमाडौँ- जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले तत्काल अहिले भोटेकोशीमा कुनै बाढी आउने सम्भावना नरहेको जानकारी दिएको छ।
शुक्रबार साँझ सूचना जारी गर्दै शाखाले नुवाकोट तथा रसुवा जिल्लामा हिमताल विस्फोटन भई बाढी आउन सक्ने सम्बन्धमा जानकारी माग गर्दै विभिन्न माध्यमबाट अत्यधिक फोन आइरहेको भन्दै यस्तो सूचना जारी गरेको हो।
सूचनामा भनिएको छ, ‘यस सम्बन्धमा जानकारी गराउन चाहन्छौँ कि यस केन्द्र चिनियाँ समकक्षी निकायहरूसँग नियमित सम्पर्कमा रही प्राप्त सूचनाहरूको निरन्तर अनुगमन गरिरहेको छ। हालसम्म प्राप्त सूचनाका आधारमा तत्काल ठूलो बाढी आउन सक्ने सम्भावना देखिएको छैन।
त्यसैले पुष्टि नभएका सूचना तथा हल्लाको आधारमा नआत्तिन तथा संयमित रहन अनुरोध गर्दछौँ।
बाढीको सम्भावना देखिएमा यस केन्द्रबाट पूर्वसूचना सम्प्रेषण गरिने पनि जनाइएको छ।


