मधेशमा ‘शिक्षा संवाद’ : शिक्षा ऐन र विद्यालय सुधारबारे सरोकारवालाका सुझाव

हिमाल प्रेस ३१ साउन २०८३ १६:३१ | Sunday, August 16, 2026
मधेशमा ‘शिक्षा संवाद’ : शिक्षा ऐन र विद्यालय सुधारबारे सरोकारवालाका सुझाव

जनकपुरधाम- शिक्षा तथा खेलकुद मन्त्रालयले प्रस्तावित शिक्षा ऐन निर्माणका लागि सातै प्रदेशमा सञ्चालन गरिरहेको ‘शिक्षा संवाद’ अभियानअन्तर्गत मधेश प्रदेशमा दोस्रो दिनको कार्यक्रम सम्पन्न भएको छ।

जनकपुरधाम-६ स्थित याज्ञवल्क्य संस्कृत माध्यमिक विद्यालय, ज्ञानकुण्डमा प्रधानाध्यापक एसोसिएसन नेपालको सहजीकरणमा आयोजित कार्यक्रममा शिक्षा क्षेत्रका विभिन्न सरोकारवालाले शिक्षा ऐनमा समेटिनुपर्ने विषय र विद्यालय शिक्षा सुधारका उपायबारे सुझाव दिएका छन्।

कार्यक्रममा शिक्षाविद् डा.विद्यानाथ कोइराला, विद्यालय शिक्षा महाशाखा प्रमुख शिव सापकोटा, प्रधानाध्यापक एसोसिएसन नेपालका अध्यक्ष सुदाम गौतम, शिक्षक महासंघका अर्थ सचिव रामानन्द यादवसहित शिक्षा क्षेत्रका अगुवाको सहभागिता थियो।

सरोकारवालाले शिक्षा ऐन निर्माण गर्दा विद्यालय तहमा देखिएका व्यावहारिक समस्या, शिक्षक तथा विद्यालयका आवश्यकता र स्थानीय समुदायको भूमिकालाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिएका थिए।

उनीहरूले विद्यालय शिक्षालाई गुणस्तरीय र प्रभावकारी बनाउन आवश्यक नीतिगत सुधार तथा विद्यालय विकासमा समुदायको अपनत्व र सहभागिता बढाउने उपायबारे पनि धारणा राखेका थिए।

कार्यक्रममा मधेश प्रदेशका आठवटै जिल्लाबाट २११ जना शिक्षा क्षेत्रका सरोकारवाला सहभागी थिए। शिक्षक, प्रधानाध्यापक, अभिभावक तथा शिक्षा क्षेत्रका अन्य अगुवाले विद्यालय शिक्षा सुधार, शिक्षक व्यवस्थापन, शैक्षिक गुणस्तर र समुदायको भूमिकालगायत विषयमा सुझाव दिएका थिए।

शिक्षा ऐन निर्माणअघि प्रत्यक्ष रूपमा सरोकारवालासँग संवाद गरी सुझाव संकलन गर्ने उद्देश्यले मन्त्रालयले ‘शिक्षा संवाद’ अभियान सञ्चालन गरिरहेको हो। सातै प्रदेशमा पुगेर प्राप्त सुझावलाई प्रस्तावित शिक्षा ऐन तथा विद्यालय शिक्षा सुधारसम्बन्धी नीतिमा समेट्ने मन्त्रालयको तयारी छ।

प्रकाशित: ३१ साउन २०८३ १६:३१ | Sunday, August 16, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast