देउवाले कुर्सी छाड्न नसकेको राजनीतिक मनोविज्ञान!

हिमाल प्रेस ७ भदौ २०८३ २१:११ | Sunday, August 23, 2026
देउवाले कुर्सी छाड्न नसकेको राजनीतिक मनोविज्ञान!

काठमाडौँ- नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पार्टीको वैधानिक संरचनाले नचिनेको सभापति पदमै फर्किएका छन्। आइतबार कांग्रेस इतर समूहको काठमाडौँको चुनदेवीस्थित कार्यालयमा देउवा ‘सभापति’कै हैसियतमा देखिए।

कार्यालयबाहिर ‘सभापति शेरबहादुर देउवा’ लेखिएको नेमप्लेट झुन्ड्याइएको थियो भने उनको टेबुलमा पनि त्यही व्यहोराको नेमप्लेट राखिएको थियो। देउवा प्रसन्न मुद्रामा कुर्सीमा बसेका थिए। नेता मीन विश्वकर्मालगायतले उनलाई कार्यालयमा स्वागत गरेको तस्बिर तथा भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएका छन्।

नेपाली कांग्रेसको आधिकारिकतासम्बन्धी विवाद अहिले सर्वोच्च अदालतमा विचाराधीन छ। विशेष महाधिवेशन पक्षधरले नेतृत्व लिएपछि उत्पन्न विवाद अदालतसम्म पुगेको थियो।

निर्वाचन आयोगले विशेष महाधिवेशनबाट गगनकुमार थापाको नेतृत्वमा निर्वाचित नयाँ कार्यसमितिलाई २०८२ माघ २९ मा आधिकारिकता दिएको थियो। कांग्रेस गगन थापाको नेतृत्वमा फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनमा सहभागी भएको थियो। सर्वोच्च अदालतले पनि वैशाख ४ गते आयोगको उक्त निर्णय सदर गरेको थियो।

२०८२ भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा प्रदर्शनकारीको आक्रमणबाट गम्भीर घाइते भएका देउवा उपचारका लागि विदेश गएका थिए। सर्वोच्च अदालतले कांग्रेसको विशेष महाधिवेशनसम्बन्धी विवाद फेरि सुरुदेखि सुनुवाइ गर्न आदेश दिएपछि उनी विदेशबाट फर्किएका छन्।

अब कांग्रेसको विवाद तीन न्यायाधीशको इजलासबाट पुनः सुनुवाइ हुँदै छ। अदालतले विवाद फेरि निरुपण गर्ने भएपछि देउवा उत्साहित देखिएका छन्। आफू पार्टी एकताका लागि तयार रहेको उनले आफूलाई भेट्न पुग्ने नेताहरूसँग बताउँदै आएका छन्। तर उनको पछिल्लो व्यवहारले भने एकताको चाहनाभन्दा सभापति पदप्रतिको मोहलाई बल दिएको देखिन्छ।

विधान र पार्टीको औपचारिक संरचनाले नचिनेको सभापति पदको नेमप्लेट राखेर बस्नुले देउवाको दाबी र व्यवहारबीचको विरोधाभासलाई प्रस्ट पारेको छ। उनी पार्टी एकताको पक्षमा रहेको बताइरहेका छन्, तर वैधानिक नेतृत्वका रूपमा स्थापित गगन थापासँग तत्काल संवाद थाल्नुभन्दा अदालतको निर्णय पर्खने संकेत दिइरहेका छन्।

आइतबार नेता नैनसिंह महरसँग भएको भेटमा पनि देउवाले तत्काल थापासँग वार्ता गर्नुभन्दा अदालतको प्रक्रियालाई प्राथमिकतामा राखेको संकेत दिएका थिए। ‘मैले तपाईंहरूबीच संवाद हुनुपर्छ भनेर प्रस्ताव गरेको छु। उहाँले ठिक छ, संवाद पनि थालनी गरौँला। अदालतमा पनि प्रक्रियामा छ, त्यो पनि हेरौँ भन्नुभयो,’ महरले हिमालप्रेससँग भने।

त्यसै दिन कांग्रेस नेता कर्ण मल्लसँगको भेटमा देउवाले कांग्रेसलाई एक ढिक्का बनाउने विषयमा आफू अत्यन्त गम्भीर रहेको बताएका थिए। कांग्रेस संस्थापन पक्ष १५औँ महाधिवेशनको तयारीमा अघि बढिरहेका बेला देउवा पक्ष भने अदालतको निर्णय पर्खेर बसेको छ। पार्टीभित्रको विवाद अन्त्य गर्न केही नेताले थालेको संवाद प्रयासले पनि ठोस परिणाम दिन सकेको छैन।

देश र कांग्रेस जोड्ने अभियानका संयोजकसमेत रहेका महरले कांग्रेसभित्रको द्वन्द्व अन्त्य गरी एकताबद्ध पार्टी निर्माणमा देउवाको भूमिका महत्त्वपूर्ण हुने बताएका छन्। त्यसका लागि आफूले दुवै पक्षसँग संवाद गरिरहेको र तीनबुँदे प्रस्ताव अघि सारेको उनले बताए।

महरको प्रस्तावमा दुईमध्ये जसले जसलाई छाडे पनि हुने, दुवै पक्ष बसेर तेस्रो व्यक्तिलाई नेतृत्व दिएर अघि बढ्न सकिने तथा अदालतले जसलाई आधिकारिकता दिन्छ, सबैले त्यसैलाई स्वीकार गरेर अघि बढ्ने प्रतिबद्धता गर्नुपर्ने उल्लेख छ।

‘यस्तो प्रस्ताव सभापति थापा र पूर्वसभापति देउवा दुवैसामु राखेको छु। उहाँहरू सकारात्मक हुनुहुन्छ,’ महरले भने।

देउवाले लामो राजनीतिक यात्रामा विद्यार्थी संगठनको नेतृत्वदेखि पार्टी सभापति र प्रधानमन्त्रीसम्मका अनेकौँ महत्त्वपूर्ण पद प्राप्त गरेका छन्। विद्यार्थी राजनीतिमा नेपाल विद्यार्थी संघको सभापति बनेदेखि सुरु भएको उनको नेतृत्व यात्रा गृहमन्त्री, प्रमुख प्रतिपक्षी दलका नेता हुँदै पाँचपटक प्रधानमन्त्री र नेपाली कांग्रेसको दुईपटक सभापतिसम्म पुगेको छ।

सत्ता र पार्टी नेतृत्वका यी दुवै मोर्चामा पटकपटक अवसर पाएका देउवाले पद गुमाएका अवस्थामा पनि पुनः त्यही शक्ति केन्द्रमा फर्किने क्षमता देखाउँदै आएका छन्। प्रधानमन्त्रीबाट हटाइए, फेरि प्रधानमन्त्री बने; पार्टीबाट कारबाहीमा परे, छुट्टै पार्टी गठन गरे र अन्ततः मूल पार्टीमै फर्किएर सभापति बने।

यसरी हेर्दा देउवाको राजनीतिक जीवन संघर्ष र उतारचढावसँगै पद प्राप्ति, गुमाइ र पुनःप्राप्तिको निरन्तर शृङ्खला पनि हो। अहिले पूर्वसभापतिको भूमिकामा सीमित हुन नसकेको उनको व्यवहारले लामो राजनीतिक यात्रामा पदसँग बनेको उनको गहिरो सम्बन्धलाई फेरि सतहमा ल्याएको छ।

देउवा अहिले पनि पूर्वसभापतिको हैसियतमा सहजै सीमित हुन नसकेको देखिन्छ। पार्टीको वैधानिक नेतृत्व गगनकुमार थापाको पक्षमा स्थापित भइसकेको अवस्थामा पनि आफ्नो कार्यालयमा ‘सभापति शेरबहादुर देउवा’ लेखिएको नेमप्लेट राखेर बस्नु त्यसकै पछिल्लो उदाहरण हो। यद्यपि अदालतबाट विवादको निरूपण हुन बाँकी छ।

कांग्रेसको विवाद अदालतमा विचाराधीन रहेका बेला देउवाको यो गतिविधिले पार्टी एकताबारे उनको दाबीमाथि प्रश्न उठाएको छ। एकातिर उनी एकताको कुरा गरिरहेका छन्, अर्कोतिर सभापतिको कुर्सी छाड्ने मनस्थितिमा देखिँदैनन्। देउवाको पछिल्लो व्यवहारले यही प्रश्नलाई बल दिएको छ- कांग्रेसमा एकता चाहेका हुन् कि सभापतिको पद?


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 − 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast