विद्यार्थी बदलिए, अब सिकाइको शैली बदलौँ

सुन्दर पन्त ३१ साउन २०८३ १३:३१ | Sunday, August 16, 2026
10
SHARES
विद्यार्थी बदलिए, अब सिकाइको शैली बदलौँ

नेपाली शब्दकोशले विद्यार्थी भन्नाले ‘कुनै विषयबारे खोज गर्ने अध्येता, विद्वान्’, ‘नियमित रूपमा विद्या आर्जनमा लागिरहने व्यक्ति, शिक्षण संस्थामा अध्ययन गर्ने व्यक्ति, छात्र, शिष्य’ तथा ‘विद्या चाहने’ व्यक्ति भनेर उल्लेख गरेको रहेछ।

तर हामीले देखेको, भोगेको र सुनेको विद्यार्थी भन्नासाथ विद्यालयमा पठनपाठन गर्न जाँदा हातमा कापीकलम च्यापेर जाने, डडेल्नोमा किताब कापीको झोला हालेर झुण्ड्याएर वा बोकेर विद्यालय जाने नानीबाबुहरूलाई सम्झन्छौँ। गाउँघर, तराई तथा दुर्गम क्षेत्रतिर अझै पनि हातमै पुस्तक बोकेर विद्यालय जाने-आउने बालबालिका भेटिन्छन्।

अचेल कलेज तथा विश्वविद्यालय जाने भाइबहिनीहरूले पनि पुस्तक-कापीको झोला बोकेकै हुन्छन्। कतिपयले ल्यापटप, ग्याजेट तथा अन्य विद्युतीय उपकरण पनि बोकेका हुन्छन्। विद्यालय जाने बालबालिकाको झोलाजस्तो गाह्रो न गह्रौँ भने हुँदैन। अझ विश्वविद्यालयमा उच्च अध्ययन गर्ने विद्यार्थीहरूको झोलामा ल्यापटप हुन्छ।

कलेज तथा विश्वविद्यालयमा शिक्षक-विद्यार्थीहरू अध्ययन तथा अध्यापनका क्रममा सूचना तथा प्रविधिसँग जोडिएर काम गर्ने गरेको पाइन्छ। सूचना प्रविधिसँग जोडिएर अध्ययन-अध्यापन गराउने पद्धति नेपालमा भित्रिएको धेरै समय भइसकेको छैन। तर यसको प्रयोग अब विश्वविद्यालयमा मात्र होइन, विद्यालय तहमा पनि क्रमशः प्रवेश हुँदै गइरहेको देखिन्छ।

बदलिँदो समय र प्रविधिको प्रभाव

आज समाज निकै परिवर्तन भइसकेको छ। दिनानुदिन समय बदलिएको छ। सूचना र प्रविधिले दिन-रात चौगुना गतिमा परिवर्तन ल्याइरहेको छ। उद्यमी, व्यवसायी तथा मेहनती युवा पुस्ताले यसको भरपूर प्रयोग गर्नुका साथै सदुपयोग गरेको पाइन्छ। कतिपय युवाहरू प्रविधिसँग रमाउँदै पढ्दै-कमाउँदै गरेको पनि पाइन्छ।

कतिपयले सूचना प्रविधिसँग जोडिए पनि यसलाई ठीक ढंगबाट प्रयोग गर्न नजानेर वा नसकेर यसको दुरुपयोगसमेत गरिरहेका छन्। एआईलगायतका नयाँ-नयाँ प्रविधि र त्यसका विकसित रूपले मानिसको कामलाई सहज र सरल बनाएका छन्। यसको व्यापक प्रयोगसँगै कतिपय क्षेत्रमा रोजगारीका स्वरूप बदलिएका छन् भने केही क्षेत्रमा मानिसको रोजगारी गुम्ने अवस्था पनि देखिएको छ। बेरोजगारीको समस्या पनि टड्कारो रूपमा देखिन थालेको छ। दक्ष जनशक्ति बेरोजगार हुँदा राज्यको लगानीसमेत खेर जाने अवस्था आउन सक्छ।

कोभिड-१९ र प्रविधिको विस्तार

कोभिड-१९ को विश्वव्यापी प्रकोपका कारण संसारभर लकडाउन भयो। लकडाउनका कारण सूचना तथा प्रविधिको व्यापक प्रयोग गरियो। विश्वविद्यालय, विद्यालय तथा कार्यालयका कामकाज र पठनपाठन प्रविधिसँग जोडिए।

यस क्रममा Zoom, Google Meet लगायतका माध्यमबाट पठनपाठन गर्ने नयाँ प्रविधिको प्रयोग नेपालीहरूले समेत व्यापक रूपमा गरे। दूरसञ्चारको पहुँच नपुगेका स्थानहरूमा प्रविधिको पहुँच पर्याप्त मात्रामा नभएका कारण अनलाइन कक्षा लिन निकै कठिन पर्‍यो।

स्वदेश तथा विदेशमा सूचना प्रविधि अध्ययन गरेका थुप्रै नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूले नेपालीलाई प्रविधि प्रयोग गर्न सिकाए। विश्वविद्यालय तथा विद्यालयमा पढाउने शिक्षकहरूले पनि नयाँ प्रविधि प्रयोग गर्न सिके। अनलाइन बैठक, सेमिनार, गोष्ठी तथा सूचना आदानप्रदान त्यही माध्यमबाट हुन थाले। तत्पश्चात् अनलाइनबाट अध्यापन गर्ने कार्य क्रमशः सहज हुँदै गयो र शिक्षकहरू प्रविधिसँग जोडिएर अध्यापन गर्न पोख्त हुँदै गए।

गाउँघरतिर के कस्तो छ, कुन्नि! सहरतिर खोलिएका रेस्टुरेन्ट, बार तथा मनोरञ्जनका अन्य स्थानमा स्कुले केटाकेटी रमाउने गरेका थुप्रै घटनाले बताउँछन्। प्रहरीले बेलाबखतमा त्यस्ता स्थानमा छापा मारेर स्कुले केटाकेटीलाई नियन्त्रणमा लिएका समाचार पनि सुनिन्छन्। तीमध्ये कतिपय विद्यार्थी क्रमशः कुलतमा फसेको भेटिन्छ।

डिस्को बारतिरको आकर्षण

शुक्रबार आयो कि कतिपय स्कुले केटाकेटीहरू ठमेलतिरका पप-डिस्को बार वा उपत्यकाको वरपर खोलिएका नयाँनयाँ रिसोर्ट, लज तथा होटलहरूमा पुग्ने गरेको देखिन्छ। आफ्ना सिनियरहरूको माध्यमबाट उनीहरू त्यस्ता स्थानमा विभिन्न गतिविधिमा संलग्न हुन पुग्छन्।

त्यहीँबाट विभिन्न प्रकारका लागुपदार्थको प्रयोग गर्दै क्रमशः कुलतमा नराम्ररी फस्ने अवस्था पनि देखिन्छ। पप बार वा डिस्को बारमा पुग्दा आफ्ना सिनियर दाइदिदीहरूको संगत र करकापका कारण कतिपय किशोरकिशोरी गलत गतिविधिमा समेत संलग्न हुन पुग्ने गरेका घटना सुनिन्छन्।

समूहगत द्वन्द्व

कक्षामा होस् कि टोलमा, जताततै आफ्नो प्रभुत्व देखाउन टोले गुण्डाहरूले ग्याङ बनाएजस्तै तिनकै सिको गरेर विद्यालयमा पनि त्यस्तै ग्याङ बनाउने र साथी-साथीबीच झगडा गर्ने प्रवृत्ति कतिपय विद्यार्थीमा देखिन्छ। यसले विद्यालयको शान्त वातावरण नै धूमिल बनाउन सक्छ।

१२-१४ वर्षदेखि नै कतिपय स्कुले बालबालिकाहरू आफूलाई अरूभन्दा पृथक देखाउन जेजस्तोसुकै हतकण्डा अपनाउने गर्दछन्। बाहिर आफ्ना सिनियरहरूको ‘back support’ मा विद्यालय तथा समुदायमा अनावश्यक अस्थिर वातावरण बनाउने अवस्था पनि देखिन्छ।

यसको रोकथाम गर्न सचेत अभिभावकको भूमिका महत्त्वपूर्ण हुन्छ। साथै, विभिन्न जातजाति, समुदाय तथा क्षेत्रबाट आएका बालबालिकाबीच आपसी समझदारी र घुलमिलको वातावरण बनाउन विद्यालय तथा परिवारले पनि विशेष भूमिका खेल्नुपर्ने देखिन्छ।

हुक्का, चुरोट र भेपको लत

हिजोआज स्कुल पढ्ने कतिपय केटाकेटीहरू आफ्ना सिनियरहरूसँग पप बार तथा विभिन्न स्थानमा गई हुक्का तान्ने रहर गर्दै बानी पार्ने गरेका छन्। चुरोटलाई समेत कतिपयले शौखकै रूपमा लिन्छन्। त्यही चुरोटको लतसँगै भेप तान्दै हिँड्ने युवाहरूको जमात पनि दिनप्रतिदिन बढ्दै गएको देखिन्छ।

भर्खरका युवा मोटरसाइकलमा होस् वा विभिन्न स्थानमा बसेर भेप तानेर अरूलाई देखाउनुमा आफ्नो शान बढेको ठान्छन्। यसबाट सानै उमेरदेखि नै कुलतमा लाग्ने संख्या बढ्न सक्ने भएकाले अभिभावक तथा विद्यालयले समयमै सचेतना फैलाउन आवश्यक छ।

सानै उमेरमा सम्बन्ध बनाउने प्रवृत्ति

कुरा सुन्दा पनि अचम्मै लाग्छ। विद्यालयमा पढ्ने सानै कक्षा ४-५ देखि नै एकअर्काबीच जोडी बनाउने र “यो मेरो फलानो Girl Friend हो नि, यो उसको Boy Friend हो नि” भनेर हाकाहाकी भन्ने गरेको सुनिन्छ।

‘सर, तर घरमा हाम्रो अभिभावकलाई नभन्नु होला नि! हाम्रा अभिभावकलाई भने राम्रो हुँदैन नि?’ भनेर कतिपय बालबालिकाले भन्ने गर्छन्। सम्झाउन खोज्दा ‘हामीलाई सबै थाहा छ, हामीलाई सम्झाउनु पर्दैन’ भन्ने प्रतिक्रिया पनि सुनिन्छ। मेसेन्जरबाट घण्टौँ कुरा गर्ने तथा फेसबुक र अन्य सामाजिक सञ्जालबाट विभिन्न खालका घटना सुन्ने र हेर्ने आदतले के गर्ने, के नगर्ने, कसलाई के भन्ने र कसरी भन्ने कुरामा बालबालिकाहरू आफूलाई जानकार ठान्ने गरेका छन्।

कक्षा ४-५ देखि नै जोडी बनाउने बालबालिकालाई सम्बन्ध, सामाजिक व्यवहार र डिजिटल प्रयोगका विषयमा उमेरअनुकूल मार्गदर्शन कसरी दिने भन्ने विषयमा पनि अभिभावक र विद्यालयले सोच्नुपर्ने देखिन्छ।

शिक्षकसँग प्रतिवाद गर्ने प्रवृत्ति

हिजोआज कक्षाकोठामा विद्यार्थीहरू शिक्षकहरूसँग खुसी देखिँदैनन्। शिक्षक पनि विद्यार्थीहरूसँग खुसी देखिँदैनन्। विद्यार्थी स्वयं रचनात्मक तथा क्रियात्मक काम गर्न रुचाउँदैनन्। रेडिमेड उत्तर दिने प्रवृत्ति बढेको छ।

शिक्षकले दिएका गृहकार्य साथीहरूको सार्ने (copy गर्ने) प्रवृत्ति पनि देखिन्छ। फेसबुक, अनलाइन स्रोत तथा AI Tool को प्रयोग गरेर तयार सामग्री प्रस्तुत गर्ने अवस्था पनि बढेको छ। कतिपय विद्यार्थीमा शिक्षकभन्दा आफू नै बढी जान्ने भन्ने अहम् बढेको देखिन्छ। यसले शिक्षक र विद्यार्थीबीचको दूरी बढाएको देखिन्छ।

तर यसलाई विद्यार्थीको मात्र समस्या भनेर हेर्नुभन्दा बदलिँदो समय, प्रविधिको पहुँच, सिकाइका नयाँ शैली तथा शिक्षक-विद्यार्थी सम्बन्धमा आएको परिवर्तनका रूपमा पनि बुझ्न आवश्यक देखिन्छ।

विद्यार्थीलाई दोष होइन, दिशा

आजको नवीनतम, AI को युगमा प्रवेश गरेका विद्यार्थीहरूलाई कसरी कक्षाकोठामा आकर्षित गर्ने भन्ने विषयमा बहस हुन सक्छ। त्यसका विभिन्न विकल्पबारे छलफल गर्न सकिन्छ। ती सबै विविध विकल्पलाई कक्षाकोठामा शिक्षकहरूले प्रवेश गराउँदा पनि सोचेको जस्तो परिणाम प्राप्त गर्न नसकिएको अवस्था छ।

अनुशासन नै विद्यार्थीको अमूल्य गहना हो। तर विद्यार्थीहरूमा आफूले जे गरे पनि त्यही अनुशासन हो भन्ने भ्रम रहनु हुँदैन। अनुशासनसँगै जिम्मेवारी, आत्मनियन्त्रण, सम्मान र कर्तव्यबोध पनि आवश्यक हुन्छ।

बालबालिकालाई नैतिक शिक्षा, नीतिकथा, धार्मिक ग्रन्थका साथै आध्यात्मिक चेतना, सांस्कृतिक पक्ष र चारित्रिक ज्ञान घरबाटै सुरु गरेर विद्यालय तहसम्म निरन्तरता दिनुपर्ने देखिन्छ। विद्यालयले पनि विद्यार्थीको व्यवहार, चरित्र निर्माण र सामाजिक जिम्मेवारी विकासमा विशेष ध्यान दिन आवश्यक छ।

गुरुकुलीय (आवासीय) पद्धतिबाट शिक्षण गर्नुपर्ने विषयमा पनि यस सन्दर्भमा गम्भीर छलफल गर्न सकिन्छ।

र यो पनि- आफ्ना छोरा-छोरीहरूको उज्ज्वल भविष्यका लागि नेपाली विद्यार्थीहरूमा अझ बढी पठन संस्कृतिको विकास गर्न अभिभावक शिक्षा दिनु नितान्त आवश्यक देखिन्छ। यो अब अपरिहार्य भइसकेको छ।

आजका विद्यार्थी हिजोका विद्यार्थीभन्दा फरक छन्। उनीहरूको हातमा किताबसँगै प्रविधि छ, उनीहरूको सोचमा नयाँ संसार छ र उनीहरूको सिकाइको माध्यम पनि बदलिएको छ। त्यसैले उनीहरूलाई केवल दोष दिएर मात्र समस्याको समाधान हुँदैन। बदलिँदो विद्यार्थीलाई बुझ्ने, सही दिशा दिने र समयअनुकूल शिक्षा प्रदान गर्ने जिम्मेवारी अभिभावक, शिक्षक, विद्यालय र समाज सबैको हो।

विद्यार्थी बदलिएका छन्; अब उनीहरूलाई मार्गदर्शन गर्ने हाम्रो तरिका पनि बदलिन आवश्यक छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 + 10 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast