सामाजिक सद्भाव कायम राख्न विद्यालयका छाता संगठनको अपिल, शुक्रबारदेखि पठनपाठन स्थगित

हिमाल प्रेस १४ साउन २०८३ १६:३७ | Thursday, July 30, 2026
6
SHARES
सामाजिक सद्भाव कायम राख्न विद्यालयका छाता संगठनको अपिल, शुक्रबारदेखि पठनपाठन स्थगित

काठमाडौँ- सुनसरीसहित देशका विभिन्न जिल्लामा हालै भएका संवेदनशील तथा दुःखद् घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै निजी विद्यालयका छाता संगठनहरूले सामाजिक सद्भाव कायम राख्न सबै पक्षसँग अपिल गरेका छन्। शुक्रबार (साउन १५) देशभर आबद्ध शैक्षिक संस्थामा पठनपाठन स्थगित गर्ने निर्णय गरेका छन्।

हिसान, एनप्याब्सन, प्याब्सन र एमप्याब्सनले संयुक्त रूपमा बिहीबार जारी गरेको विज्ञप्तिमा घटनामा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना प्रकट गरेका छन्।

घाइते नागरिक तथा सुरक्षाकर्मीहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कडा कारबाही गर्न सरकारसँग माग गरेका छन्।

सरकारले सम्बन्धित पक्षसँग तत्काल संवादको वातावरण सिर्जना गर्दै आपसी सद्भाव, समन्वय र शान्तिपूर्ण समाधानको पहल गर्नुपर्ने विज्ञप्तिमा उल्लेख गरिएको छ। कुनै पनि प्रकारको क्षति हुन नदिन सबै पक्षलाई संयमता अपनाउन पनि आग्रह गरिएको छ।

छाता संगठनहरूले पछिल्ला केही दिनदेखि विभिन्न स्थानमा सामाजिक सद्भाव खलबल्याउने गतिविधि भइरहेका र विभिन्न संघसंगठनले बजार बन्दको आह्वान गरेकाले विद्यार्थीहरूको विद्यालय आवतजावतमा कठिनाइ हुन सक्ने अवस्थालाई ध्यानमा राख्दै शुक्रबार पठनपाठन स्थगित गरिएको जनाएका छन्।

विद्यालयबाट घर फर्किने क्रममा विद्यार्थीहरूको सुरक्षित आवागमन सहज बनाउन सम्बन्धित सबै पक्षसँग अनुरोध गरिएको छ।

विज्ञप्तिअनुसार साउन १८ गते सोमबारदेखि विद्यालय तथा क्याम्पसहरू नियमित समयमै सञ्चालन हुनेछन्।

प्रकाशित: १४ साउन २०८३ १६:३७ | Thursday, July 30, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast