सांकेतिक तस्बिर।
काठमाडौँ- राष्ट्रिय बाल अधिकार परिषद्ले विद्यालयमा विद्यार्थीहरूको कपाल जबर्जस्ती काट्ने, कटाउन लगाउने वा यसका आधारमा अपमानजनक व्यवहार गर्ने कार्य बालअधिकारविपरीत हुने भन्दै त्यस्ता गतिविधि तत्काल रोक्न सबै विद्यालयलाई आग्रह गरेको छ।
परिषद्ले जारी गरेको विज्ञप्तिमा पछिल्ला केही दिनदेखि विद्यालयमा विद्यार्थीहरूको कपाल जबर्जस्ती काटिएको भन्ने उजुरी तथा जानकारी प्राप्त भएको उल्लेख गर्दै यस्तो कार्य नगर्न सचेत गराएको हो।
परिषद्का अनुसार नेपालको संविधान, बालबालिकासम्बन्धी ऐन, २०७५ तथा शिक्षा नियमावली, २०५९ (दशौं संशोधन) ले बालबालिकामाथि शारीरिक वा मानसिक दण्ड, अपमानजनक व्यवहार तथा मनोसामाजिक रूपमा नकारात्मक असर पर्ने कुनै पनि गतिविधिलाई निषेध गरेको छ। यस्ता कार्यलाई बालबालिकाविरुद्धको हिंसा तथा कसुरका रूपमा व्याख्या गरिएको परिषद्को भनाइ छ।
विद्यालयले पोसाक वा साजसज्जासम्बन्धी मापदण्ड पालना नगरेको वा ‘शुल्क नतिरेको’ जस्ता कारण देखाएर विद्यार्थीलाई सार्वजनिक रूपमा अपमानित गर्ने, कक्षामा वा परीक्षामा सहभागी हुनबाट वञ्चित गर्ने, जबर्जस्ती कपाल काट्ने वा कटाउन लगाउने, शारीरिक स्वरूप, पहिचान, श्रृङ्गार (मेकअप) वा साजसज्जाका आधारमा होच्याउने, चरित्रमाथि प्रश्न उठाउने तथा लामो समयसम्म घाम वा अन्य प्रतिकूल अवस्थामा उभ्याएर दण्ड दिने जस्ता गतिविधि नगर्न निर्देशन दिइएको छ।
परिषद्ले यस्ता व्यवहारले विद्यार्थीको आत्मसम्मान, मर्यादा, शारीरिक तथा मानसिक स्वास्थ्य र मनोसामाजिक अवस्थामाथि प्रतिकूल असर पर्ने भएकाले विद्यालयहरूले बालअधिकारमैत्री आचारसंहिता बनाई कार्यान्वयन गर्नुपर्नेमा जोड दिएको छ।
बालअधिकारको सम्मान, संरक्षण र प्रवर्द्धनका लागि सबै विद्यालय प्रशासन तथा विद्यालय व्यवस्थापन समितिलाई संवेदनशील र जिम्मेवार भएर कार्य गर्न परिषद्ले हार्दिक अपिल गरेको छ।


