काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी कसैको वैशाखी (सहारा) बिना नै आफ्नै खुट्टामा उभिन सक्ने बलियो शक्ति भएको दाबी गरेका छन्।
पार्टी केन्द्रीय कार्यालय च्यासलमा एमालेको नयाँ वेबसाइट र मोबाइल एप सार्वजनिक कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले चौतर्फी घेराबन्दी र एक्ल्याउने प्रयासका बाबजुद एमाले सशक्त रूपमा अघि बढ्ने बताए।
एमालेविरुद्ध राजनीतिक घेराबन्दी र एक्ल्याउने खेलहरू अझै पनि निरन्तर चलिरहेको ओलीको दाबी छ। पार्टीले केही धक्का बेहोर्नु परे पनि यो अन्त्य नभई नयाँ ढंगले अघि बढ्ने अवसर भएको उनको भनाइ छ।
एमाले अरूको सहारामा मात्रै टेक्ने कुनै लहरो नभएर आँधीबेहरीसँग जुध्दै हुर्किएको एउटा विशाल र स्वतन्त्र वृक्ष भएको उनले जिकिर गरे।
अनुकूल समय आउँदा हौसिने र प्रतिकूल परिस्थिति आउँदा निराश हुने चरित्र एमालेको नरहेको भन्दै ओलीले आफ्नै बलमा चुनौतीहरूलाई परास्त गर्ने दृढता व्यक्त गरे।

