नारायणगढ-मुग्लिन सडकमा ढिस्को काट्न दैनिक केही घण्टा सवारी रोकिने

हिमाल प्रेस ८ साउन २०८३ १३:०३ | Friday, July 24, 2026
12
SHARES
नारायणगढ-मुग्लिन सडकमा ढिस्को काट्न दैनिक केही घण्टा सवारी रोकिने

चितवन- नारायणगढ-मुग्लिन सडक खण्डको तुइन खोलामा सवारीसाधन रोकेर ढिस्को काटिने भएको छ। डिभिजन सडक कार्यालय चितवनले पहिरो नियन्त्रणका लागि ठेक्का पाएको निर्माण कम्पनीलाई सडक रोकेर ढिस्को काट्ने तयारी गर्न आग्रह गरेको छ।

कार्यालयका इन्जिनियर अर्जुन घिमिरेका अनुसार शनिबार जिल्ला प्रशासन कार्यालयमा छलफल गरिँदै छ। प्रशासनको परामर्शमा सवारी रोक्ने समय तय भएपछि काम अघि बढ्ने छ। निर्माण कम्पनीले एउटा एक्साभेटर र लोडर तुइन खोलमा ल्याई सकेको छ।

घिमिरेका अनुसार दैनिक दुईरतीन घण्टा सडक रोकेर काम गरेमा दुई महिना हाराहारीमा जोखिमपूर्ण ढिस्का झार्न सकिने अनुमान छ। दिउँसोको समयमा सवारी चाप कम हुने भएकाले सोही समय सवारी रोक्नका लागि प्रशासनसँग आग्रह गरिने उनले जानकारी दिए। यो सडक राजधानीको ‘लाइफलाइन’ हो। दैनिक १० हजार हाराहारी सवारीसाधन यही सडक हुँदै गुड्ने गर्दछन्।

बाबरी कन्स्ट्रक्सनले तुइन खोलाको आडको नारायणगढतर्फको भित्तो र नाम्सिको मुग्लिन पट्टीको ढिस्कोको पहिरोको जोखिम हटाउने कामका लागि रु २२ करोड २१ लाखमा ठेक्का सम्झौता गरेको छ। अबको १० महिनामा दुवै ठाउँको काम सक्नुपर्ने छ।

पहिलो चरणमा ज्याक ह्याम्बरको सहायताले मानिसले झुण्डिएर जोखिमपूर्ण ढिस्कोहरु तल झार्नु पर्नेछ। त्यसपछि भित्तोमा रडलाई ड्रिल गरेर त्यहाँ बाहिरबाट जाली लगाएर पहिरो रोकिनेछ। यसलाई ‘नेलिङ’ भनिन्छ। दुवै ठाउँमा यसरी नै काम गरिने उनले जानकारी दिए।

पहिरोको उच्च जोखिममा रहेको तुइन खोलामा गत वर्षको असोज ३ र ७ गते पहिरो खस्दा एक सय घण्टाभन्दा बढी सडक अवरुद्ध भएको थियो। सो ढिस्को १०५ मिटर उचाइ र १६५ मिटर लम्बाइ छ। नम्सिको मुग्लिन पट्टीको ढिस्को ६० मिटर अग्लो र १०० मिटर लम्बाइ रहेको छ। केही वर्षअघि सडक विस्तारका क्रममा काटिएको भित्तोमा तुइन खोलामा गत वर्ष एकाएक पहिरो खसेपछि सो ठाउँ उच्च जोखिममा परेको हो।

सो सडक खण्डमा मध्यमदेखि उच्चसम्म गरी ४३ ठाउँमा पहिरोको जोखिम रहेको छ। जुनसुकैबेला पहिरो खस्नसक्ने भएकाले पहिरो पन्छाउन मुग्लिन र सेती दोभानमा तयारी अवस्थामा उपकरण राखिएको छ। मुग्लिनमा एउटा लोडर छ भने सेती दोभानमा लोडर, एक्साभेटर, व्याक हु लोडर, ट्रिपर, टेलर र मिनि एक्साभेटर राखिएको छ।

प्रकाशित: ८ साउन २०८३ १३:०३ | Friday, July 24, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast