चितवन- वर्षायाममा सडक खुलेलगत्तै हतारमा सवारीसाधन ओभरटेक गर्ने प्रवृत्तिका कारण नारायणगढ-मुग्लिन सडकमा दुर्घटना र सवारीजाम बढ्न थालेपछि चितवन प्रशासनले चालकलाई ट्राफिक नियमको पूर्ण पालना गर्न आग्रह गरेको छ।
आइतबार बिहान नारायणगढ-मुग्लिन सडकखण्डमा बसले ट्रकलाई ओभरटेक गर्ने क्रममा तीनवटा सवारीसाधन एकापसमा ठोक्किँदा ३० जना घाइते भएका थिए। दुर्घटनापछि केही समय सवारी आवागमनसमेत अवरुद्ध भएको थियो।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडेलले मुग्लिनतर्फ गइरहेको बसले ट्रकलाई ओभरटेक गर्दा दुर्घटना भएको बताए।
उनका अनुसार ओभरटेक नै सडक दुर्घटना र सवारीजामको प्रमुख कारण बन्दै गएको छ।
उनले ओभरटेकका कारण दुर्घटनाको जोखिम बढ्नुका साथै लामो सवारीजाम हुने, एम्बुलेन्सलगायत अत्यावश्यक सवारीसाधनलाई बाटो बनाउन कठिन हुने र दुर्घटनामा घाइते भएकाको उद्धारमा समेत ढिलाइ हुने गरेको बताए।
‘आज बिहानको दुर्घटनामा पनि सवारीजामका कारण उद्धार कार्य प्रभावित भयो,’ उनले भने।
बाढीपहिरोको जोखिमलाई मध्यनजर गर्दै स्थानीय प्रशासनले शनिबार राति १० बजेदेखि नारायणगढ-मुग्लिन सडक र चितवन क्षेत्रमा पर्ने पृथ्वी राजमार्गमा सवारी सञ्चालन अस्थायी रूपमा रोकेको थियो।
बिहान ५ः३० बजे सडक खुलेपछि चालकले हतारमा ओभरटेक गर्दा दुर्घटना र सवारीजाम भएको प्रशासनको भनाइ छ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरीक्षक अनिल थापाले ट्राफिक नियमको पालना गरे दुर्घटना र सवारीजाम दुवै उल्लेख्य रूपमा घटाउन सकिने बताए। उनले ट्राफिक नियमको पालनाबाट चालक र यात्रु दुवैले प्रत्यक्ष लाभ पाउने उल्लेख गरे।
प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले वर्षायाममा बाढी र पहिरोको उच्च जोखिमका कारण रातको समयमा सवारी सञ्चालनमा रोक लगाउनु बाध्यता रहेको बताउँदै सडक खुलेपछि आआफ्नो लेनमै सवारी चलाउन र ओभरटेक नगर्न चालकलाई आग्रह गरे।
उनले सुरक्षित र सहज यातायात सञ्चालनका लागि प्रशासनसँगै चालक र यात्रुको पनि समान सहयोग आवश्यक रहेको बताए।
उनले ट्राफिक नियम उल्लंघन गर्ने चालकविरुद्ध कानुनबमोजिम कडा कारबाही गरिने चेतावनी दिँदै सबैलाई ट्राफिक नियमको पूर्ण पालना गर्न आग्रह गरे।

