सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेल
काठमाडौँ- सरकारले मुलुकमा सुशासन कायम गर्न निरन्तर प्रतिबद्ध रहेको जनाएको छ।
प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारका सय दिनका उपलब्धिबारे प्रतिनिधिसभामा जानकारी गराउँदै सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले वर्तमान सरकार सुरुदेखि नै भ्रष्टाचार अन्त्य गर्दै मुलुकमा सुशासन कायम गर्न निरन्तर प्रतिवद्ध रहेको बताएका हुन्।
उनले सरकार गठनकै दिन मन्त्रिपरिषद्को पहिलो बैठकबाट शासकीय सुधारका १०० कार्यसूची स्वीकृत गरी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट यसको नियमित अनुगमन, समन्वय र सहजीकरण भइरहेको बताए।
स्वार्थ प्रेरित निर्माण नियन्त्रण गर्नका लागि ’राष्ट्रिय नीति तर्जुमाका आधारभूत पक्षका ढाँचाहरू’ र ‘नीति परीक्षण ढाँचा’ लागू गरिएको, प्रशासनिक बोझ घटाउन संघीय मन्त्रालयको संख्या १८ मा सीमित गरी १७ सदस्यीय मन्त्रिमण्डल गठन गरिएको उनको भनाइ छ।
प्रवक्ता पोखरेलले युनियन व्यवस्था खारेज गरी प्रशासनलाई पूर्ण रूपमा राजनीतिक हस्तक्षेपमुक्त बनाइएको उल्लेख गरे। उनले राजनीतिक पदाधिकारी तथा उच्च पदस्थ कर्मचारीको गैरकानूनी सम्पत्ति छानबिन गर्न ‘जाँचबुझ आयोग ऐन २०२६’ बमोजिम सम्पत्ति छानबिन आयोग गठन गरिएको र हालसम्म ११ हजारभन्दा बढी सम्पत्ति विवरण तथा उजुरी संकलन भइसकेको जानकारी दिए।
उनले वर्तमान सरकार गठन भएयता सरकारी निकायमा आपसी लेनदेनमा संलग्न ६६६ जना विचौलियालाई नियन्त्रणमा लिई १७० विरुद्ध मुद्दा दर्ता गरिएको र लुटपाट र आक्रमणमा संलग्न १३,६९६ जनालाई नियन्त्रणमा लिई ६,१९५ जनामाथि मुद्दा दायर गरिएको बताए।
यस आर्थिक वर्षमा १७ हजार रोजगारी सिर्जना गर्ने लक्ष्य अनुरूप हालसम्म १६ हजार ८ रोजगारी सिर्जना भइसकेको उनको भनाइ छ।




