युरोपको प्रलोभन, कम्बोडियाको जेल : दोहोरो ठगीमा नेपाली

उद्धारपछि पनि नरोकिने ठगी, रोइरहेका परिवार

हिमाल प्रेस ८ साउन २०८३ २१:२८ | Friday, July 24, 2026
10
SHARES
युरोपको प्रलोभन, कम्बोडियाको जेल : दोहोरो ठगीमा नेपाली

काठमाडौँ- ‘मेरो छोरो युरोप पुगेको भनेको थियो, पछि थाहा भयो ऊ त कम्बोडियाको जेलमा रहेछ’, बैंककस्थित नेपाली दूतावासमा यस्ता फोन अहिले नियमितजस्तै आएका छन्। युरोप वा अमेरिका पुर्‍याइदिने प्रलोभनमा दक्षिणपूर्वी एसियाका देश पुर्‍याइएका नेपालीहरू अनलाइन स्क्याम सेन्टरमा बन्धकजस्तै काम गर्न बाध्य पारिने, असफल भए कुटपिट वा जेलमा पर्ने र त्यसपछि उद्धारको बहानामा उनीहरूकै परिवारबाट लाखौँ रुपैयाँ असुल्ने अन्तर्राष्ट्रिय ठगी सञ्जाल सक्रिय रहेको नेपाली दूतावासले जनाएको छ।

कुनै आमाले छोराको खोजीमा रुँदै फोन गर्छिन्। कुनै श्रीमतीले श्रीमान् कहाँ छन् भनेर सोध्छिन्। कसैले ‘छुटाउन पाँच लाख लाग्छ’ भन्ने एजेन्टको कुरा सुनाउँछन्। कसैले ‘वकिल राखेका छौँ’ भनेर फेरि पैसा मागिएको गुनासो गर्छन्। दूतावासले वास्तविकता खोज्दै जाँदा भने धेरैजसो कथाको अन्त्य एउटै ठाउँमा पुग्छ- कम्बोडियाका अनलाइन स्क्याम सेन्टर, जेल वा तिनैको वरिपरि फैलिएको ठगीको जालो।

एक समय वैदेशिक रोजगारीका नाममा खाडी वा मलेसियामा नेपाली ठगिन्थे। पछि जल, स्थल र हवाई मार्ग हुँदै अमेरिका पुर्‍याइदिने नाममा पनि ठगी हुन थाले। कुनै बेला हस्त लिखित रातो पासपोर्टमा पीसी अर्थात् फोटो परिवर्तन गरेर महिनौँ लागेर युरोप पुगेका थिए। अहिले त्यही ठगीले नयाँ रूप फेरेको छ। गन्तव्य बदलिएको छ, तर पीडा उस्तै छ।

अब नेपालीहरूलाई ‘युरोप लैजान्छु’, ‘अमेरिका पुर्‍याइदिन्छु,’ ‘डिजिटल कम्पनी’ मा आकर्षक तलबको जागिर छ भन्दै दक्षिणपूर्वी एसियाका देशहरू कम्बोडिया, म्यानमार, लाओस र थाइल्यान्ड पुर्‍याइन्छ।  त्यहाँ पुग्नेबित्तिकै उनीहरू स्वतन्त्र श्रमिक होइन, अन्तर्राष्ट्रिय साइबर अपराधको सञ्जालमा जबर्जस्ती प्रयोग हुने जनशक्ति बन्छन्।

एजेन्टका चिल्ला कुराले परिवारमाथि अर्को ठगी

थाइल्यान्डका लागि नेपाली राजदूत धनबहादुर ओली (उनी कम्बोडिया र लाओसका लागि गैरआवासीय राजदूत पनि हुन) सँग कुरा गर्दा सबैभन्दा बढी दोहोरिने शब्द थियो- ‘प्रलोभन’।

‘हामी विगत १५ महिनादेखि ठगीमा पर्नुहोला भनेर सचेत गराइरहेका छौँ। सञ्चारमाध्यममा पनि आइरहेका छन्’, उनले भने, ‘हाम्रो कुरालाई बेवास्ता गर्दै युवाहरू एजेन्टका अनेकथरी सपनामा पर्छन्। धेरैले परिवारलाई समेत नभनी घर छोड्छन्। युरोप पुग्ने बाटो हो भनेर कम्बोडिया पुग्छन्।  त्यहाँ पुगेपछि उनीहरू स्क्याम सेन्टरमा पुर्‍याइन्छन्। अनि भनिन्छ- युरोप अमेरिकाकै कम्पनी हो। केही समय काम गरेर उता जाने। त्यही लोभले अधिक नेपाली फसेका छन्।’

त्यहाँको वास्तविकता नेपाली युवाले कल्पना गरेभन्दा धेरै भिन्न  हुन्छ। ओलीले  भने, ‘दिनभर कम्प्युटरअगाडि  बसेर संसारभरका मानिसलाई ठग्ने काम गर्न बाध्य बनाइन्छ। लक्ष्य पूरा गर्न नसके कुटपिट हुने, थुनिने वा प्रहरीको नियन्त्रणमा पुग्ने घटना सामान्यजस्तै भएको छ। त्यसपछि सुरु हुन्छ पीडाको अर्को अध्याय।’

अनि ठगी गर्नेले नै नेपालमा रहेका परिवारलाई फोन गर्न थाल्छन् र भन्छन्, ‘तपाईंको छोरा जेलमा छ। वकिल राखेका छौँ। पाँच लाख पठाउनुस्, छिटो छुटाउने प्रयत्न भएका छ। घर आउँछ।’

यसरी उनीहरू दोहोरो चेपुवामा पर्छन्। एक अन्य नागरिकलाई कम्प्युटरमार्फत ठगी गर्नुपर्ने र अर्को उनीहरू अब फर्कन घरबाट अनेकन बहानाबाट पैसा माग्नपर्ने अवस्था उत्पन्न हुन्छ। ‘त्यहाँ उनीहरूले वकिल नै राखेका हुँदैनन्। घरबाटै पनि पैसा उठाउने अर्को गिरोह सक्रिय हुन्छ। कतिपयलाई कतै राखेर पनि ‘जेलमा छु सन्चै छु’ भनेर लेखेको पत्र पठाएर पनि परिवारसँग रकम असुलिएको जानकारी हामीले पाएका छौँ,’  राजदूत ओलीले भने, ‘हामीले कम्बोडिया सरकारसँग समन्वय गरेर कैयौँ नेपाली फर्काइसकेका छौँ तर त्यहाँका एजेन्टहरूले घरपरिवारसँग पैसा उठाएका हुन्छन्। कुनै घरपरिवारको मानिसले लैजाने एजेन्टविरुद्ध उजुरी नगर्दा कारबाहीमा समस्या भइरहेको छ।’

राजदूतकै कुराबाट पनि स्पष्ट हुन्छ- एउटै नेपालीमाथि दुई पटक अपराध हुन्छ। पहिलो पटक बेचिन्छ। दोस्रो पटक उद्धारका नाममा परिवार लुटिन्छ। विडम्बना के भने यति ठूलो रकम माग्दा पनि नेपालमा बस्ने परिवारले दूतावास वा सरकारसँग पुष्टि गर्ने प्रयास गर्दैनन्। भावनामा बगेर पैसा पठाइहाल्छन्।

यही कमजोरीलाई अन्तर्राष्ट्रिय ठगी गिरोहले सबैभन्दा बढी प्रयोग गरिरहेको राजदूत ओलीले सुनाए। उनले भने,  ‘उजुरी नपर्दा एजेन्टहरू सुरक्षित छन्, परिवार भने पीडित बनेका छन्। हामीले धेरैलाई उद्धार गरिसक्यौँ। तर जसले पठायो, उसैविरुद्ध उजुरी गर्न कोही तयार हुँदैन। हामीले त सुझाउने हो। बुझ्नुपर्ने पठाउनेहरूले हो- मेरो छोरा जस्तै अरू नठगियून् भनेर।’

‘कसैले एजेन्ट आफन्त भएको बताउँछन्। कोही ‘समस्या बढ्ला’ भनेर डराउँछन्। कतिपय आफैँ पनि अवैध बाटो रोजेर गएको स्वीकार गर्न चाहँदैनन्,’  ओलीले भने, ‘यसरी नेटवर्कलाई ढाडस मिल्नुमा हाम्रै दोष छ। परिणामस्वरूप मानव तस्करीको सञ्जाल जस्ताको तस्तै रहन्छ। स्थान परिवर्तन होला, प्रक्रिया उस्तै र हामी ठगिने दूतावासले उद्धारमा लागिरहनुपर्ने।’

आफ्नो छोराछोरी फर्केपछि वा फर्कने पक्का भएपछि वा केही थाहा नहुँदा पनि कुनै परिवारले जसले पठाएको हो, त्यसैका नाममा उजुरी दिएमा नेटवर्कसम्म पुग्न सजिलो हुने भनाइ ओलीको छ। उनका अनुसार यसबाट प्रहरीलाई अनुसन्धान गर्ने बलियो आधार मिल्छ। अर्को नेपालीलाई बचाउन पनि सहज हुन्छ।

ठगी धन्दाका केही मुख्य सञ्चालक  श्रीलंकामा गएर लुकेको खबर पाएको ओलीले बताए। उनले भने,  ‘उनीहरू जहाँजहाँ भए पनि नेटवर्क सञ्चालन जारी राखेका छन्। धेरै त २५ वर्षमुनिका नेपाली छन्। आईटीमा दख्खल राख्नेहरू धेरै छन्। दर्जनौँ देशका नागरिक यसमा परेका छन्। सुनिन्छ ५७ देशका छन्।’ ओलीका अनुसार नेपालमा उनीहरूको स्थानीय सञ्जाल छ भने विदेशमा अर्कै समूह रहेको बुझ्न सकिन्छ।  उनले भने, ‘यस्तालाई तोड्ने उजुरी दिएर नै हो तर कसैबाट पनि यस्तो उजुरी नपर्दा समस्या भएको छ।’

त्यहाँ पुगेपछि उद्धारका नाममा पैसा उठाउने ठगीको अर्को जालो छ। यो अब व्यक्तिगत ठगी होइन, अन्तर्राष्ट्रिय संगठित अपराध बनिसकेकाले यसमा सरकार मात्र होइन परिवार पनि चनाखो हुन जरुरी रहेको ओलीले बताए।

अर्को चिन्ताजनक पक्ष

कतिपय नेपाली कम्बोडियामै बसेर परिवारलाई आफू युरोप वा अमेरिका पुगेको भन्दै झुट बोलिरहेका हुन्छन्। उनीहरूको सामाजिक सञ्जालमा देखिने तस्बिरले गाउँका अरू युवालाई पनि त्यही बाटो लाग्न प्रेरित गर्छ। सपना बेच्ने यही मनोविज्ञानले नयाँ पीडित जन्माइरहेको छ।

सचेतना र कानुनी कारबाही पनि उत्तिकै आवश्यक रहेको परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्री बताउँछन्। उनका अनुसार सरकारले हालसम्म यस्ता आठ सय ६० नेपालीको उद्धार गरिसकेको छ। तीमध्ये सात सय ३३ जना कम्बोडियाबाट फर्काइएका छन्। अझै कति नेपाली त्यहाँ फसेका छन् भन्ने यकिन तथ्यांक कसैसँग छैन।

कम्बोडियाका जेलमा ४९ नेपाली छन्। उनीहरूलाई आवश्यक कानुनी सहायता बैंककस्थित नेपाली दूतावासमार्फत भइरहेको छ। राजदूत ओलीका अनुसार दूतावासले कम्बोडियाली सरकारसँग निरन्तर समन्वय गरेर सात सय ३१ नेपालीको जरिबाना मिनाहा गराउन सफल भएको छ।

कम्बोडियामा अवैध रहेकालाई दिन १० अमेरिकी डलर जरिबाना लाग्छ। कानुनी दण्ड छँदै छ। महिनौँ जेल बस्दा त्यो रकम हजारौँ डलरसम्म पुग्छ। धेरै नेपालीका परिवारले त्यो रकम तिर्न सक्ने अवस्था हुँदैन। ‘यसमा हामीले कम्बोडियन सरकारसँग समन्वय गरेर मिनाहा गराएका छौँ। हामीले मिनाहा गराउने तर पठाउने एजेन्टले घरबाट मागेर खाने काम भइरेको जानकारी पाएका छौँ’, ओलीले भने।

परिस्थिति झन् कठिन

कम्बोडियाले साइबर अपराध नियन्त्रण गर्न नयाँ कानुन ल्याएर कडाइ गरेको छ। पहिले कूटनीतिक पहलले सहज हुने केही प्रक्रिया अब कानुनी प्रक्रियामै सीमित हुन थालेका छन्। यहीबीच दूतावासले मानवीय सम्बन्ध विस्तार गर्न नेपालबाट नेत्रज्योति संघको टोली लगेर कम्बोडियामा निःशुल्क आँखा शिविरसमेत सञ्चालन गरेको थियो। त्यसले स्थानीय निकायसँग विश्वासको सम्बन्ध बनाउन सहयोग पुगेको राजदूत ओली बताउँछन्।

उनी अर्को संवेदनशील चेतावनी पनि दिन्छन्। केही गैरआवासीय नेपाली आफूहरू दूतावाससँग निकट रहेको देखाएर पनि यस्ता अवैध गतिविधिमा संलग्न भएको आशंका रहेको उनको भनाइ छ। त्यसैले ‘फलानो दूतावाससँग नजिक छ’ भन्ने भरमा कसैलाई विश्वास नगर्न उनले आग्रह गरे।

राजदूत ओलीले भने, ‘हामीले गरेको कार्यक्रमसमेतलाई बिचौलियाले आफूहरूले गरेको भनेर पनि भन्न बेर लाग्दैन। कुनै देशमा आफ्ना मान्छे पठाउँदा त्यहाँको अवस्था बुझ्नुपर्छ। परराष्ट्र मन्त्रालयबाट जानकारी लिनुपर्छ।’ विदेशमा रहेका नेपालीको अभिभावक दूतावास हो। दूतावासमा काम गर्नेहरूले केही अपवादबाहेक यस्तो अवैध धन्दालाई साथ दिँदैनन्।

नयाँ नेपालीहरू अझै पनि युरोप र अमेरिकाको सपना देखाएर त्यही सञ्जालमा फस्ने क्रम नरोकिएकाले दूतावासले वैदेशिक रोजगारीका नाममा आउने यस्ता प्रस्तावप्रति सतर्क रहन, परराष्ट्र मन्त्रालयसँग जानकारी लिन र ठगी गर्ने एजेन्टविरुद्ध अनिवार्य रूपमा उजुरी दिन आग्रह गरेको छ।

कम्बोडियाको यो कथा नेपाली समाजको कथा हो। छिट्टै धनी बन्ने चाहना, वैदेशिक रोजगारीको असुरक्षित बाटो, सामाजिक प्रतिष्ठाको दबाब, विदेश पुगेको देखाउनुपर्ने मनोविज्ञान र अपराधीविरुद्ध बोल्न नचाहने संस्कृतिले मिलेर सयौँ नेपालीलाई अन्तर्राष्ट्रिय स्क्याम उद्योगको इन्धन बनाइरहेको छ।

हुन त देशले उद्धार गरिरहेको छ। दूतावासले रातदिन समन्वय गरिरहेको छ। जरिबाना मिनाहा गराइरहेको छ। जेलबाट निकालिरहेको छ। तर अर्को विमानबाट फेरि नयाँ नेपाली त्यही गन्तव्यतर्फ उडिरहेका छन्।

त्यसैले  परराष्ट्र मन्त्रालय वा दूतावासको समस्या होइन। समाज, परिवार, प्रहरी, वैदेशिक रोजगार प्रणाली र कानुनी संयन्त्र सबैको साझा चुनौती हो। किनभने सपनाको मूल्य कहिलेकाहीँ टिकटको भाडा मात्र हुँदैन। त्यो स्वतन्त्रता, परिवारको सुख र कतिपय अवस्थामा जीवनकै मूल्य पनि हुन सक्छ।

आज कम्बोडियाको जेलमा रहेका ४९ नेपाली अधुरा सपनाका जीवित प्रतीक हुन्।  उनीहरूको कथा सुनेपछि एउटै प्रश्न बाँकी रहन्छ- हामी अझै कति नेपालीलाई यस्तै सपनाको नाममा बेचिन दिने?

प्रकाशित: ८ साउन २०८३ २१:२८ | Friday, July 24, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast