‘शिक्षकबाटै असुरक्षित छात्रा’, यौन शिक्षा अनिवार्य गर्न सांसदहरूको माग

हिमाल प्रेस ८ भदौ २०८३ १४:५१ | Monday, August 24, 2026
‘शिक्षकबाटै असुरक्षित छात्रा’, यौन शिक्षा अनिवार्य गर्न सांसदहरूको माग

काठमाडौँ- समाजमा महिलामाथि हुने हिंसा तथा बालबालिकामाथि हुने यौनजन्य दुर्व्यवहार बढ्दै गएको भन्दै सोमबार बसेको प्रतिनिधिसभा बैठकमा सांसदहरूले महिला तथा बालबालिकाको सुरक्षाका लागि सरकारको ध्यानाकर्षण गराएका छन्।

सांसद आकृति अवस्थीले विद्यालयमा समेत अभिभावकसरह विश्वास गर्नुपर्ने शिक्षकबाटै छात्रा असुरक्षित हुने अवस्था रहेको बताउँदा अर्की सांसद रन्जु न्यौपानेले कक्षा १ देखि १२ सम्म उमेरअनुकूल यौन शिक्षा अनिवार्य गर्न माग गरेकी छन्।

प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद अवस्थीले महिला सशक्तीकरणको चर्चा भइरहे पनि महिलाहरू वास्तवमै सुरक्षित छन् कि छैनन् भन्ने प्रश्न गर्नुपर्ने अवस्था आएको बताइन्।

‘हामी गर्वका साथ भन्छौं, महिला सशक्त छन्। महिला सुरक्षित पनि छन्? कार्यालयमा महिला आफ्नो क्षमता प्रमाणित गर्न जान्छिन्, सबैभन्दा पहिला उनको शरीर, पहिरन र जीवनको मूल्यांकन हुन्छ,’ उनले भनिन्।

सार्वजनिक स्थानमा समेत महिलाले दुर्व्यवहार सहनुपरेको उल्लेख गर्दै उनले भनिन्,‘सार्वजनिक यातायातमा गन्तव्यमा पुग्न हिँडेकी महिलाले अश्लील टिप्पणी र दुर्व्यवहार सहनुपर्छ।’

विद्यालयमा छात्रा शिक्षकबाटै असुरक्षित हुने अवस्था रहेको भन्दै अवस्थीले भनिन्,‘विद्यालयमा ज्ञान लिन गएकी छात्रा अभिभावकसरह विश्वास गर्नुपर्ने शिक्षकबाटै असुरक्षित छिन्।’

गाउँसमाजमा परिवारको इज्जतको नाममा महिलाको आवाज दबाइने र घरभित्रैसमेत महिला असुरक्षित हुने अवस्था रहेको उनको भनाइ थियो। ‘सबैभन्दा पीडादायक कुरा, जहाँ उनी सबैभन्दा सुरक्षित हुनुपर्ने हो, कहिलेकाहीँ उनी घरभित्रै पनि सुरक्षित छैनन्,’ उनले भनिन्।

यसैगरी प्रतिनिधिसभा सदस्य रन्जु न्यौपानेले बालबालिका तथा महिलामाथि हुने यौन हिंसा न्यूनीकरणका लागि कक्षा १ देखि १२ सम्म यौन शिक्षा अनिवार्य गर्न सरकारसँग माग गरेकी छन्।

प्रतिनिधिसभामा बोल्दै न्यौपानेले यौन शिक्षालाई लिएर समाजमा रहेको संकोच हटाउनुपर्ने बताइन्। विद्यालयका पाठ्यपुस्तकमै उमेरअनुकूल र वैज्ञानिक यौन शिक्षा समावेश गरी कक्षा १ देखि १२ सम्म अनिवार्य रूपमा पढाउने व्यवस्था गर्नुपर्ने उनको भनाइ थियो। ‘हामी सधैँ यौन शिक्षा भन्नेबित्तिकै मुख फर्काउँछौँ, त्यो हटाउनुपर्छ,’ उनले भनिन्।

न्यौपानेले यौनजन्य अपराधको अनुसन्धानलाई प्रभावकारी बनाउन नेपालको फरेन्सिक क्षमता वृद्धि गर्नुपर्ने र घटनास्थलमा पुग्ने प्रहरीको अनुसन्धान क्षमता अभिवृद्धिका लागि सरकारले विशेष कार्यक्रम सञ्चालन गर्नुपर्ने माग गरिन्।

‘हाम्रो फरेन्सिक क्षमता कति छ, त्यसलाई वृद्धि गरियोस्। घटनास्थलमा पुग्ने प्रहरीहरूको क्षमता विकासमा नेपाल सरकारले काम गरोस्,’ उनले सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराइन्।

सञ्चारमाध्यम, विज्ञापन, कथा तथा चलचित्रमा महिलालाई यौन वस्तुका रूपमा प्रस्तुत गर्ने प्रवृत्तिमाथि पनि सरकार गम्भीर हुनुपर्ने न्यौपानेको भनाइ थियो। महिलालाई निरन्तर यौन वस्तुका रूपमा प्रस्तुत गरिरहने हो भने महिला र छोरीहरू सुरक्षित हुन नसक्ने उनले बताइन्।

महिला र बालिकालाई सम्मान गर्ने संस्कारलाई समाजमा अझ बलियो बनाउनुपर्नेमा जोड दिँदै उनले नेपाली समाजमा छोरीलाई देवीका रूपमा सम्मान गर्ने परम्परालाई व्यवहारमै कायम राख्नुपर्ने बताइन्।

पछिल्ला वर्षहरूमा बलात्कारजस्ता जघन्य अपराध बढ्दै गएको उल्लेख गर्दै न्यौपानेले अपराध नियन्त्रणका लागि सरकारले दीर्घकालीन र प्रभावकारी कदम चाल्नुपर्ने बताइन्।

बलात्कारका घटनामा कानुन कडा बनाउनुपर्ने आवाज लामो समयदेखि उठ्दै आएको उल्लेख गर्दै उनले कानुन कस्तो र कसरी बनाउने भन्ने विषयमा गम्भीर छलफल आवश्यक रहेको बताइन्।

प्रकाशित: ८ भदौ २०८३ १४:५१ | Monday, August 24, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 − 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast