काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सहसंयोजक माधव कुमार नेपाललाई सोमबार कोटेश्वरस्थित निवासमै पुगेर भेटवार्ता गरेका छन्।
दुवै नेताबीच प्रदेश सरकार गठन तथा आगामी राजनीतिक रणनीतिका विषयमा केहीबेर छलफल भएको प्रचण्डको सचिवालयले जनाएको छ।
सचिवालयलका अनुसार उहाँहरूबीच कुनै असहज अवस्था छैन। प्रदेश सरकारको नेतृत्व र सहकार्यलाई कसरी व्यवस्थित गर्ने भन्ने विषयमा छलफल भएको हो।
पार्टीभित्र पर्याप्त आन्तरिक छलफल नगरी प्रचण्डले एमालेसँग प्रदेश सरकारमा सहकार्य गर्ने सहमति गरेको भन्दै माधव नेपाल असन्तुष्ट छन्। नेपाल एमालेसँगभन्दा नेपाली कांग्रेससँग सहकार्यलाई प्राथमिकता दिनुपर्ने पक्षमा रहेका थिए।
नेकपा र एमालेबीच भएको समझदारीअनुसार कोशी, बागमती र लुम्बिनी प्रदेशमा एमालेको नेतृत्वमा सरकार गठन गर्ने, कर्णाली र सुदूरपश्चिममा नेकपाले नेतृत्व गर्ने तथा गण्डकी र मधेश प्रदेशमा अन्य दलको सहयोगमा सरकार गठन गर्ने सहमति भएको थियो।


