सुकुना माविमा छात्रामाथि दुर्व्यवहार प्रकरण : तीन शिक्षक कर्मचारी निलम्बित, चार जना पक्राउ

हिमाल प्रेस ८ साउन २०८३ ११:४० | Friday, July 24, 2026
4
SHARES
सुकुना माविमा छात्रामाथि दुर्व्यवहार प्रकरण : तीन शिक्षक कर्मचारी निलम्बित, चार  जना पक्राउ

काठमाडौँ- मोरङको सुन्दरहरैँचा नगरपालिका-१० स्थित सुकुना माध्यमिक विद्यालयमा अध्ययनरत एक छात्रामाथि दुर्व्यवहार भएको आरोपसँग सम्बन्धित घटनामा विद्यालयले तीन जना शिक्षक तथा कर्मचारीलाई निलम्बन गरेको छ भने प्रहरीले हालसम्म चार जनालाई पक्राउ गरी अनुसन्धान अघि बढाएको छ।

विद्यालय व्यवस्थापन समितिको निर्णयअनुसार शिक्षक तथा कर्मचारीहरूको आचरणसम्बन्धी विषय तथा कानुनले निषेध गरेका गतिविधिबारे विभिन्न सञ्चार माध्यम र सामाजिक सञ्जालमा सार्वजनिक भएका सूचनाप्रति विद्यालयले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

विद्यालयले जारी गरेको सूचनामा आरोपित व्यक्तिहरूलाई अदालतबाट दोषी ठहर नभएसम्म कानुनी प्रक्रियालाई सहज बनाउन तत्कालका लागि निलम्बन गरिएको उल्लेख छ। विद्यालयले सत्यतथ्य पत्ता लगाई निष्पक्ष छानबिन तथा कानुनी कारबाहीका लागि सम्बन्धित निकायमा पत्राचार गरिसकेको जनाउँदै विद्यार्थी, अभिभावक तथा शुभेच्छुकलाई अनुसन्धान नसकिउञ्जेल संयमित रहन अनुरोध गरेको छ।

विद्यालयले निलम्बन गरेका व्यक्तिहरूमा लेखा अधिकृत तथा शिक्षक अविरल मास्के, संगीत प्रशिक्षक भीमप्रसाद नेपाल र बस चालक प्रदीप भट्टराई रहेका छन्। अन्य आरोपित शिक्षक तथा कर्मचारीमाथि पनि आवश्यक छानबिन गरी कारबाही गरिने विद्यालयले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय मोरङले घटनाको अनुसन्धानका क्रममा संलग्न देखिएका तीन जनालाई सोमबार बिहान नियन्त्रणमा लिएको थियो। पक्राउ पर्नेमा सुन्दरहरैँचा-१० का प्रदीप भट्टराई, सुन्दरहरैँचा-२ का किशोरलाल गच्छदार र सुन्दरहरैँचा-१२ का अविरल मास्के रहेका छन्।

घटना सार्वजनिक भएपछि फरार रहेका संगीत प्रशिक्षक भीम नेपाललाई पनि सोमबार साँझ पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक (डीएसपी) मकेन्द्र कुमार मिश्रले जानकारी दिएका छन्। यससँगै उक्त प्रकरणमा पक्राउ पर्नेहरूको संख्या चार पुगेको छ।

प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ। अनुसन्धानबाट अन्य व्यक्तिको समेत संलग्नता खुलेमा कानुनबमोजिम कारबाही गरिने जनाइएको छ। अनुसन्धानलाई असर पुग्ने गरी सामाजिक सञ्जालमा अनावश्यक टिप्पणी नगर्न पनि प्रहरीले सबैमा अनुरोध गरेको छ।

प्रकाशित: ८ साउन २०८३ ११:४० | Friday, July 24, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast