सुनसरी घटना : गृहमन्त्री र पीडित परिवारबीच सहमति, सहिद घोषणा प्रक्रिया अघि बढ्ने

हिमाल प्रेस १५ साउन २०८३ ६:३७ | Friday, July 31, 2026
20
SHARES
सुनसरी घटना : गृहमन्त्री र पीडित परिवारबीच सहमति, सहिद घोषणा प्रक्रिया अघि बढ्ने

काठमाडौँ- सुनसरीको देवानगन्ज गाउँपालिका-३ कमानागरमा गत साउन १० गते भएको घटनामा मृत्यु भएका ओमप्रकाश महतो र जयप्रकाश महतोका परिवार तथा गृह मन्त्रालयबीच ७ बुँदे सहमति भएको छ।

सहमतिपत्रअनुसार सरकारले दुवै मृतकलाई सहिद घोषणा गर्ने प्रक्रिया तत्काल अघि बढाउने तथा मृतकका परिवारलाई जनही १० लाख रुपैयाँ राहत उपलब्ध गराउने सहमति भएको छ।

त्यस्तै, घटनाको निष्पक्ष र प्रभावकारी छानबिन गरी दोषीउपर प्रचलित कानुनबमोजिम आवश्यक कारबाही प्रक्रिया अघि बढाइने सहमतिमा उल्लेख गरिएको छ।

सहमतिअनुसार देवानगन्ज गाउँपालिका-३ स्थित मदरसाको कानुनी हैसियत तथा सम्बन्धित विषयमा आवश्यक छानबिन तत्काल सुरु गरिनेछ।

प्रत्येक मृतकका परिवारका एक जना योग्य सदस्यलाई रोजगारीको अवसर उपलब्ध गराइने सहमति भएको छ।

छानबिन समितिले पेस गर्ने प्रतिवेदनका सुझाव तथा निष्कर्ष कार्यान्वयन गर्न आवश्यक प्रक्रिया अघि बढाइने र मृतकहरूको सम्झनामा गाउँपालिकाको उपयुक्त स्थानमा स्थानीय सरकारसँगको समन्वयमा स्मृति पार्क निर्माण गरिने सहमतिपत्रमा उल्लेख गरिएको छ।

सहमतिपत्रमा मृतकका परिवारका तर्फबाट अभिभावक र सरकारका तर्फबाट गृहमन्त्री सुधन गुरुङले हस्ताक्षर गरेका छन्।

प्रकाशित: १५ साउन २०८३ ६:३७ | Friday, July 31, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast