गोलबजारमा हट्यो कर्फ्यु

हिमाल प्रेस १७ साउन २०८३ १७:२० | Sunday, August 2, 2026
12
SHARES
गोलबजारमा हट्यो कर्फ्यु

काठमाडौँ– सिरहाको गोलबजार नगरपालिका क्षेत्रमा जारी गरिएको कर्फ्यु आदेश हटाइएको छ। जिल्ला प्रशासन कार्यालय सिरहाले आइतबार सूचना जारी गर्दै जिल्लाको पछिल्लो सुरक्षा अवस्थाको विश्लेषणका आधारमा गोलबजार क्षेत्रमा लगाइएको कर्फ्यु हटाइएको जनाएको हो।

प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलद्वारा जारी सूचनाअनुसार स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६९क० बमोजिम लागू गरिएको कर्फ्यु आइतबार साँझ ७ बजेदेखि हटाइएको छ।

जिल्ला प्रशासन कार्यालयले सुरक्षा अवस्थाको समीक्षा गर्दै सामान्य अवस्था बन्दै गएको निष्कर्षपछि कर्फ्यु हटाउने निर्णय गरिएको जनाएको छ।

यसअघि गोलबजार क्षेत्रमा उत्पन्न तनावपूर्ण अवस्थालाई दृष्टिगत गर्दै स्थानीय प्रशासनले कर्फ्यु आदेश जारी गरेको थियो।

स्थानीय प्रशासनले बिहीबार दिउँसो २ बजेदेखि गोलबजार क्षेत्रमा कर्फ्यु घोषणा गरेलगत्तै गोलबजार-४ क्याम्पस चोकनजिक भएको प्रदर्शनमा सिराहाको औरही गाउँपालिका- २, तुलसीपुरका १७ वर्षीय गाणेश यादवको मृत्यु भएपछि प्रदर्शन चर्किएको थियो।

प्रदर्शनका क्रममा एबी मलसहित एक दर्जन निजी घर, पसल, २० थान मोटरसाइकल र एउटा टेम्पोमा आगजनी भएको थियो। प्रदर्शनकारीसँग भएको झडपमा २२ सुरक्षाकर्मी र एक सर्वसाधारण घाइते भएका थिए।

गृहमन्त्री सुधन गुरुङ घटनास्थल पुगेर घटनाका बारेमा छानबिन गर्ने, मृतकका परिवारलाई १० लाख रुपैयाँ क्षतिपूर्ति दिने र परिवारका सदस्यलाई रोजगारी उपलब्ध गराउने सहमति गरेपछि परिवारले शनिबार शव बुझेका थिए।

प्रकाशित: १७ साउन २०८३ १७:२० | Sunday, August 2, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast