कांग्रेस विभाजनको संकेत थप बलियो,  इतर समूहको राष्ट्रिय भेला स्थगित

धैर्यकान्त दत्त २४ असार २०८३ २१:१९ | Wednesday, July 8, 2026
16
SHARES
 कांग्रेस विभाजनको संकेत थप बलियो,  इतर समूहको राष्ट्रिय भेला स्थगित कांग्रेस सभापति गगनकुमार थापा र पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्का। फाइल तस्बिर

काठमाडौँ- नेपाली कांग्रेसको संस्थापन इतर समूहले राष्ट्रिय भेला बोलाउने कार्यक्रम तत्कालका लागि स्थगित गरेको छ। संस्थापनसँग असन्तुष्ट बनेर पछिल्लो तीन दिनदेखि छुट्टै बैठक सञ्चालन गरिरहेको इतर समूहले राष्ट्रिय भेला बोलाउन थप छलफल आवश्यक रहेको निष्कर्ष निकालेको हो।

चुनदेवीस्थित सम्पर्क कार्यालयमा बुधबार तेस्रो दिन बसेको बैठकमा पूर्वकार्यवाहक सभापति पूर्णबबहादुर खड्काले थप सल्लाह गरेर मात्रै राष्ट्रिय भेलाको मिति तय गरिने सुनाएका थिए। संस्थापनसँग सहमति जुट्न नसकेको अवस्थामा वैकल्पिक बाटो अपनाउने तयारी इतर समूहको छ। यसका लागि यो समूहले राष्ट्रिय भेला बोलाएर नेतृत्व चयन गर्ने बताइएको छ।

बैठकमा बोल्दै खड्काले राष्ट्रिय भेलाको मिति तोकिसकेपछि सार्ने अवस्था आउन नहुने बताए। यद्यपि उनले एकदुई दिनभित्रै राष्ट्रिय भेला बोलाउने मिति तय हुने जानकारी गराएका थिए। संस्थापन र इतर समूह आआफ्नो अडानमा कायम रहँदा नेपाली कांग्रेस फुटको संघारमा पुगेको छ। सार्वजनिक रूपमा दुवै समूह सहमतिका लागि लचक रहेको बताइरहे पनि अडानबाट पछि हट्न तयार देखिएका छैनन्।

इतर समूहका नेताहरूले १४ नियमित महाधिवेशन पक्षधरसमेत समेटेर एकताको वातावरण बनाउनुपर्ने आफूहरूको भनाइ रहेको दाबी गरेका छन्। तर यसका लागि संस्थापन तयार नभएको दाबी उनीहरूको छ। अर्कोतर्फ संस्थापन पक्ष भने इतर पक्षले १११ जनालाई केन्द्रीय सदस्य बनाउनुपर्ने र अद्यावधिकबिनै क्रियाशील सदस्यको मान्यता दिनुपर्ने अडान राखेको बताएका छन्।

जबकि आफूहरूले संख्या किटान नगरेको दाबी इतर पक्षको छ। कांग्रेसका प्रचार विभागका पूर्वप्रमुख मीनबहादुर विश्वकर्मा संख्या किटान गरेर आफूहरूले केन्द्रीय सदस्य राख्नुपर्ने भनेर नभनेको बताए। ‘यति जना उति जना भन्ने छैन। १५ औँ महाधिवेशनमा जाँदा नियमित महाधिवेशन पक्षधरलाई पनि सँगै लिएर जाऔँ भनेका हौँ,’ उनले भने, ‘अब उहाँहरूले सँगै लिएर जान सकिँदैन भन्ने कुरा सीधै त भन्नुभएको छैन। तर कि उहाँहरूले खण्डन गर्नुपर्‍यो, होइन भने त्यही कुरा हो भने पार्टी मिल्ने अवस्था देखिरहेको छैन।’

२०५९ सालमा तत्कालीन सभापति गिरिजाप्रसाद कोइराला र नेता शेरबहादुर देउवाबीच खटपट भएपछि कांग्रेस विभाजन भएको थियो। देउवाले आफ्नो नेतृत्वका नेपाली कांग्रेस (प्रजातान्त्रिक) बनाएका थिए। देउवालाई सघाउने अधिकांश नेताहरू अहिले संस्थापन पक्षसँग समझदारी नभए वैकल्पिक शक्ति निर्माणको तयारीमा जुटेका छन्। इतर समूहको नेतृत्व गरिरहेका नेता खड्का आफैँले औपचारिक रूपमा नबोले पनि यो समूहमा आबद्ध विमलेन्द्र निधि, कृष्णप्रसाद सिटौला, प्रकाशशरण महतलगायतका नेताहरू वैकल्पिक शक्ति (छुट्टै पार्टी) निर्माण गरेर अगाडि बढ्नुपर्ने योजनामा रहेको निकट नेताहरू बताउँछन्।

नेताहरूको निर्देशनपछि यो समूहसँग आबद्ध कैयौँले आफ्नो क्रियाशील सदस्यता अद्यावधिक गरेका छैनन्। पूर्वकार्यवाहक सभापति खड्काले क्रियाशील सदस्यता कायमै रहने भन्दै अद्यावधिक गर्न आवश्यक नरहेको बताएका थिए।

तर संस्थापन पक्ष भने क्रियाशील सदस्यता अद्यावधिक नगरेकाहरू १५ औँ महाधिवेशनमा भाग लिन नपाउने बताएको छ। संस्थापनले भनेअनुसार भइदिए इतर समूहमा आबद्ध हजारौँ कार्यकर्ताको क्रियाशील सदस्यता गुम्ने निश्चित छ। त्यसैले अलमलको अवस्था चिर्दै तत्काल ठोस निर्णय लिनैपर्ने दबाबमा इतर समूह पुगेको छ, यतिबेला।

प्रचार विभागका पूर्वप्रमुख विश्वकर्मा क्रियाशील सदस्यता अद्यावधिक नभएको अवस्थामा वार कि पार गर्नुपर्ने धारणा नेताहरूको रहेको बताए। ‘धेरै साथीहरूलाई क्रियाशील अद्यावधिक गर्नु पर्दैन पनि भनिसक्यौँ। अद्यावधिक पनि नगर्ने, विकल्प पनि नदिने, पार्टी एकतातर्फ पनि नजाने जस्ता अनिर्णय गर्नु हुँदैन। वार कि पार गर्नुपर्छ भन्ने नेताहरूको भनाइ छ,’ उनले भने।

विशेष महाधिवेशनअघि दुवै पक्षबीच तीव्र तिक्तता देखिए पनि फागुन २१ को चुनावका बेला नेताहरूले कांग्रेस एकजुट रहेको सन्देश दिन खोजेका थिए। अहिले गगन थापालाई सभापति स्वीकार गर्न तयार नरहेका नेताहरू उनले हस्ताक्षर गरेको टिकट लिएर चुनावको मैदानमा उत्रिएका थिए। संस्थापन र इतर समूहबीच पछिल्लो समय बढ्दै गएको दूरीले कांग्रेस एक रहनेमा नेताहरू सशंकित देखिन थालेका छन्। उनीहरूका अनुसार पार्टी एकताको सबै सम्भावना लगभग अन्त्य भइसकेको छ।

‘नेपाली कांग्रेस अबको १०-१५ दिनमा एक नरहन सक्ने सम्भावना बढी देखिरहेको छु मैले,’ विश्वकर्माले भने। संस्थापनसँग सहमतिको सम्भावना टर्दै गएपछि इतर समूह चुनदेवीमा स्थापना गरेको सम्पर्क कार्यालयबाटै राजनीतिक गतिविधि अगाडि बढाउने रणनीतिमा देखिएको छ।

कार्यालय सञ्चालनका लागि यो समूहको नेतृत्व गरिरहेका पूर्वकार्यवाहक सभापति खड्काले आर्थिक सहयोग गर्न नेताहरूलाई आग्रह गरेका छन्।

सम्पर्क कार्यालयका लागि पूर्वपदाधिकारीले दुई लाख, कार्यसम्पादन समिति सदस्य र मन्त्री भइसकेकाले एक लाख र केन्द्रीय सदस्य भएकाले ५० हजार सहयोग गर्नुपर्ने खड्काले बुधबारको बैठकमा सुनाए। सबैले सहयोग गरे कार्यालय सञ्चालन हुने उनको भनाइ थियो। खड्काले पार्टी एकता गराउनुपर्नेहरू निकै टाढा रहेको सुनाए।

‘पार्टी एकता गराउनुपर्नेहरू निकै टाढा हुनुहुन्छ। जसले एकता गर्नुपर्ने हो उहाँहरू बहुत टाढा हुनुहुन्छ। पार्टी विभाजन हाम्रा कारणले हुँदैन, सभापतिले चाहनुभयो भने पार्टी विभाजन हुन्छ,’ खड्काले भने।

उनले सभापति थापा एकताका लागि इच्छुक नभएको आरोप लगाए। खड्काले भने, ‘गगनजीले चाहनुपर्‍यो। उहाँ जुन बाटोमा हिँड्नुभएको छ, पछि फर्किनुहुन्न।’

इतर समूहका शीर्ष नेतृत्व निराश देखिए पनि अन्य नेताहरू भने एकतालाई पहिलो प्राथमिकता दिनुपर्नेमा जोड दिएका छन्। बुधबारको बैठकमा धारणा राखेका केन्द्रीय सदस्य, प्रदेश महामन्त्री, जिल्ला सभापति तथा विभिन्न तहका नेताहरूले एकतालाई पहिलो प्राथमिकता दिँदै अगाडि बढ्नुपर्नेमा जोड दिएका हुन्।

नेता विश्वकर्माले बैठकमा सहभागी अधिकांश नेताहरूले पार्टी एकतालाई पहिलो प्राथमिकता दिनुपर्नेमा जोड दिएको बताए। क्रियाशील सदस्यताको अद्यावधिक प्रक्रिया सहमतिका आधारमा टुंग्याएर नियमित महाधिवेशनको बाटो खुलाउनुपर्ने धारणा बैठकमा व्यक्त भएको उनको भनाइ छ।

नेता विश्वकर्माका अनुसार, सहमति हुन नसके वैकल्पिक विकल्पबारे पनि छलफल गर्नुपर्ने आवाज बैठकमा उठेको छ। त्यसैगरी पार्टीको आन्तरिक विषयसँगै मुलुकको लोकतान्त्रिक प्रणाली, विधिको शासन, संवैधानिक निकायहरूको स्वतन्त्रता तथा संसदको भूमिकामाथि देखिएका चुनौतीबारे पनि बैठकमा गम्भीर छलफल भएको उनले जानकारी दिए।

प्रकाशित: २४ असार २०८३ २१:१९ | Wednesday, July 8, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve + nine =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast