काठमाडौँ- भारतीय स्टार क्रिकेटर सचिन तेन्दुलकरले आन्दोलनरत विद्यार्थीहरूको चिन्ता र शिक्षा प्रणालीबारे सामाजिक सञ्जाल एक्समार्फत धारणा सार्वजनिक गरेका छन्।
आफ्ना पितालाई सम्झँदै उनले लेखेका छन्,‘मेरा पिता प्राध्यापक हुनुहुन्थ्यो र धेरै युवा विद्यार्थीहरूका मार्गदर्शक पनि हुनुहुन्थ्यो।’
सचिनले थप भनेका छन्,‘मेरा पिताले बाल्यकालदेखि नै मलाई एउटा शिक्षा दिनुभएको थियो- असफल हुनु स्वीकार्य छ, तर धोका दिनु कहिल्यै स्वीकार्य हुँदैन। कहिल्यै पनि छोटो बाटो (सर्टकट) रोज्नु हुँदैन।’
उनले समाजको रूपमा मेहनतलाई नतिजाभन्दा बढी महत्त्व दिने संस्कृतिको विकास गर्नुपर्ने बताए।
उनका अनुसार यदि समाजले नतिजालाई मात्र महत्त्व दिने हो भने मानिसहरू योग्यता र मेहनतको सट्टा सर्टकटको बाटो रोज्न प्रेरित हुन सक्छन्।
सचिनले भने,‘आज विद्यार्थीहरूले आफ्नो मेहनतको उचित प्रतिफल नपाएको महसुस गरिरहेका छन् भने उनीहरूको निराशा बुझ्न सकिन्छ। भविष्यमा विद्यार्थीहरूले यस्तो निराशा भोग्न नपरोस् भन्ने सुनिश्चित गर्न सबैले मिलेर प्रयास गर्नुपर्छ।’
उनले थप भने,‘हामीले यस्तो वातावरण निर्माण गर्नुपर्छ जहाँ मेहनतको सम्मान होस्, इमानदारीलाई प्रोत्साहन मिलोस् र योग्यताको जित सुनिश्चित होस्।’
सचिनले सबै पक्ष मिलेर बालबालिकाको भविष्य र उनीहरूका सपनालाई सुरक्षित राख्ने समाधानमा पुग्ने विश्वास पनि व्यक्त गरेका छन्।

