कर्णालीमा सडक दुर्घटना २३ प्रतिशतले बढ्यो, तीव्र गति मुख्य कारण

रमा केसी ११ साउन २०८३ १२:३९ | Monday, July 27, 2026
6
SHARES
कर्णालीमा सडक दुर्घटना २३ प्रतिशतले बढ्यो, तीव्र गति मुख्य कारण

सुर्खेत- कर्णाली प्रदेशमा आर्थिक वर्ष २०८२/०८३ मा सडक दुर्घटनाको संख्या अघिल्लो वर्षको तुलनामा २३ प्रतिशतले बढेको छ। दुर्घटना बढे पनि मृत्यु हुनेको संख्या भने तीन प्रतिशतले घटेको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, वीरेन्द्रनगरले जनाएको छ।

कार्यालयले बुधबार सार्वजनिक गरेको वार्षिक प्रतिवेदनअनुसार प्रदेशभर एक वर्षमा एक हजार एक सय ९७ वटा सडक दुर्घटना भएका छन्। ती दुर्घटनामा एक सय ३५ जनाको मृत्यु भएको छ भने दुई हजार तीन सय सात जना घाइते भएका छन्।

कार्यालयका प्रमुख प्रहरी उपरीक्षक मुकुन्दप्रसाद रिजालका अनुसार दुर्घटनाको प्रमुख कारण तीव्र गति रहेको छ। कुल दुर्घटनामध्ये ६२ प्रतिशत अर्थात् ६ सय ७१ वटा दुर्घटना तीव्र गतिका कारण भएका छन्। त्यसपछि अन्य कारणबाट एक सय १२, चालकको असक्षमताका कारण ५१, मादक पदार्थ सेवनबाट ४८, पैदल यात्रुको कारण ३९, ओभरटेक गर्दा २०, यान्त्रिक खराबीका कारण १८, ब्रेक फेलका कारण आठ तथा मौसमका कारण केही दुर्घटना भएका छन्।

दुर्घटनामा संलग्न सवारीमध्ये मोटरसाइकल सबैभन्दा बढी देखिएको छ। कुल दुर्घटनामा ७३८ वटा मोटरसाइकल संलग्न रहेका छन्, जुन करिब ४७ प्रतिशत हो। त्यसपछि जिप, कार र भ्यान १७ प्रतिशत प्रतिशत, अटो तथा टेम्पो १४ प्रतिशत, ट्र्याक्टर ७ प्रतिशत, माइक्रो तथा फोर्स ६ प्रतिशत, ट्रक तथा ट्यांकर ४ प्रतिशत र बस ३ प्रतिशत दुर्घटनामा संलग्न भएका छन्।

उमेर समूहका आधारमा हेर्दा २६ देखि ४० वर्ष उमेर समूह सबैभन्दा बढी दुर्घटनामा परेको देखिएको छ। कुल दुर्घटनामध्ये ४४ प्रतिशत दुर्घटना यही उमेर समूहका व्यक्तिसँग सम्बन्धित छन्। कार्यालयका अनुसार यही उमेर समूह सबैभन्दा बढी यात्रा गर्ने, सवारी चलाउने तथा रोजगारीका लागि सडकमा सक्रिय रहने भएकाले दुर्घटनाको जोखिम पनि बढी देखिएको हो।

समयका आधारमा विश्लेषण गर्दा दिउँसो १२ बजेदेखि साँझ ६ बजेसम्मको अवधिमा सबैभन्दा धेरै ४३ प्रतिशतले दुर्घटना भएको देखिएको छ।

जिल्लागत रूपमा सुर्खेत सबैभन्दा जोखिमपूर्ण जिल्लाका रूपमा देखिएको छ। प्रदेशभर भएका एक हजार एक सय ९७ दुर्घटनामध्ये ६ सय ९० वटा दुर्घटना सुर्खेतमै भएका छन्। त्यसपछि रुकुम पश्चिममा एक सय ३९, दैलेखमा ८५, सल्यानमा ७५, जाजरकोटमा ५६, जुम्लामा ४६, कालिकोटमा ४२, डोल्पामा २८, हुम्लामा १९ र मुगुमा सबैभन्दा कम १७ वटा दुर्घटना भएका छन्।

कार्यालयका अनुसार प्रदेशमा सवारीसाधनको संख्या तीव्र रूपमा बढ्दै गएको, स्थानीय तहका साँघुरा तथा जिर्ण सडक, पर्याप्त ट्राफिक जनशक्तिको अभाव, सडक सुरक्षा पूर्वाधारको कमी तथा प्राविधिक रूपमा कमजोर सवारी साधनका कारण दुर्घटना बढेको हो।

आर्थिक वर्ष २०८२/०८३ मा प्रदेशमा सवारी दर्ता संख्या अघिल्लो वर्षको तुलनामा १६.२७ प्रतिशतले वृद्धि भएको छ। दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरीले वर्षभर आठ हजार २७८ वटा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरेको जनाएको छ। ती कार्यक्रमबाट पाँच लाख ६९ हजार २०६ जना प्रत्यक्ष लाभान्वित भएका छन्।

यसका साथै राडर गनमार्फत गति परीक्षण, मापसे तथा लागूपदार्थ सेवन परीक्षण, कालो सिसा हटाउने अभियान, अतिरिक्त सिट हटाउने, विद्यालय बसको प्राविधिक परीक्षण, चालकलाई ट्राफिक सचेतना तथा सामाजिक सञ्जालमार्फत प्राप्त गुनासोको सम्बोधनजस्ता अभियान सञ्चालन गरिएको कार्यालयले जनाएको छ।

यता ट्राफिक नियम उल्लंघनमा भने कमी आएको छ। अघिल्लो आर्थिक वर्षको तुलनामा चालु वर्ष ट्राफिक कारबाही २३ प्रतिशतले घटेर २९ हजार ७ सय ७५ मा सीमित भएको छ। कारबाहीबाट संकलित राजस्व पनि २० प्रतिशतले घटेर दुई करोड ७२ लाख १६ हजार रुपैयाँ पुगेको छ। ट्राफिक प्रहरीले ई-चलान प्रणालीको विस्तार, ट्राफिक नियमप्रतिको नागरिकको बढ्दो सचेतना तथा प्रभावकारी जनचेतनामूलक कार्यक्रमका कारण कारबाही र राजस्व दुवै घटेको जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 + 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast