जनकपुरधाम- शिक्षक सेवा आयोगको बढुवा सिफारिस समितिको सचिवालय, शिक्षा विकास निर्देशनालय, मधेश प्रदेशले कार्यसम्पादन मूल्यांकनका आधारमा विभिन्न तहका शिक्षकहरूको बढुवा सिफारिस गरेको सूचना सार्वजनिक गरेको छ।
निर्देशनालयले मंगलबार प्रकाशित सूचनाअनुसार शिक्षक सेवा आयोग नियमावली, २०५७ (संशोधनसहित) को व्यवस्था बमोजिम आवश्यकभन्दा बढी अंक प्राप्त गरेका उम्मेदवारलाई बढुवाका लागि सिफारिस गरिएको हो। बढुवा सिफारिसमा माध्यमिक तथा निम्न माध्यमिक तहका द्वितीय श्रेणीका शिक्षकहरू समावेश छन्।
सूचनाअनुसार बढुवा सिफारिस भएका शिक्षकले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र निर्धारित राजस्व बुझाई आवश्यक कागजातसहित शिक्षा विकास निर्देशनालय, जनकपुरधाममा उपस्थित हुनुपर्नेछ। माध्यमिक तह द्वितीय श्रेणीका लागि रु. ७५० र निम्न माध्यमिक तह द्वितीय श्रेणीका लागि रु. ६०० दस्तुर तोकिएको छ।
यसपटक सर्लाही, सिराहा, धनुषा, महोत्तरी, सप्तरी र बारा जिल्लाका विभिन्न विषय तथा तहका शिक्षकहरू बढुवा सिफारिसमा परेका छन्। प्रकाशित विवरणअनुसार सर्लाही जिल्लामा माध्यमिक तहका ६ जना, सिराहामा ५ जना, धनुषामा ३ जना, बारामा १ जना तथा निम्न माध्यमिक तहमा सप्तरीका ७ जना, सिराहाका १ जना, धनुषाका २ जना, महोत्तरी, सर्लाही, रौतहट र पर्साका १/१ जना शिक्षक बढुवा सिफारिसमा परेका छन्।
निर्देशनालयले बढुवा सिफारिसउपर निर्धारित अवधिभित्र उजुरी दिन सकिने व्यवस्था पनि गरेको छ। नियमावलीअनुसार बढुवा सिफारिसविरुद्ध दाबी वा आपत्ति भए सम्बन्धित निकायमा उजुरी दिन सकिने सूचनामा उल्लेख छ।



