कांग्रेस निकट शिक्षकलाई सभापति थापाले भने- पेसागत जिम्मेवारी इमानदारीपूर्वक निर्वाह गर्नुस्

हिमाल प्रेस १९ असार २०८३ १५:१५ | Friday, July 3, 2026
40
SHARES
कांग्रेस निकट शिक्षकलाई सभापति थापाले भने- पेसागत जिम्मेवारी इमानदारीपूर्वक निर्वाह गर्नुस्

काठमाडौँ- नेपाली कांग्रेसका सभापति गगन थापाले नेपालको शिक्षा क्षेत्रमा देखिएको सबैभन्दा ठूलो समस्या दलीयकरण भएको बताएका छन्।

पार्टी केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रममा बोल्दै थापाले शिक्षा क्षेत्रमा राजनीतिक हस्तक्षेपभन्दा पनि दलीय स्वार्थ हाबी हुनु चिन्ताको विषय भएको बताए।

विद्यालय व्यवस्थापनदेखि प्रधानाध्यापक नियुक्ति र शिक्षक चयनसम्म दलीय प्रभाव देखिनु शिक्षा सुधारको प्रमुख बाधक रहेको उनको भनाइ थियो।

उनले भने,‘हामी शिक्षामा राजनीति भयो भन्छौँ, तर वास्तविक समस्या दलीयकरण हो। व्यवस्थापन समितिमा आफ्नै मान्छे चाहियो, प्रधानाध्यापक पनि आफ्नै मान्छे चाहियो, शिक्षक पनि हाम्रो मान्छे हुनुपर्छ भन्ने सोचबाट अब बाहिर निस्कनुपर्छ। त्यो राजनीति होइन, दलीयकरण हो।’

थापाले शिक्षालाई दलगत स्वार्थभन्दा माथि उठाएर गुणस्तरीय शिक्षा र संस्थागत सुधारमा केन्द्रित हुनुपर्ने आवश्यकता औँल्याए।

उनले नेपाली कांग्रेस निकट शिक्षक संगठनमा आबद्ध शिक्षकहरूलाई आफ्नो पेसागत जिम्मेवारी इमानदारीपूर्वक निर्वाह गर्न आग्रह गर्दै त्यसैले पार्टीको प्रतिष्ठा बढ्ने बताए।

‘कांग्रेस सभापतिका रूपमा शिक्षक संघमा आबद्ध सबै शिक्षकसँग मेरो आग्रह छ,‘विद्यालयमा आफ्नो भूमिका जिम्मेवारीपूर्वक निर्वाह गर्नुस्। त्योभन्दा ठूलो योगदान नेपाली कांग्रेसलाई अरू केही हुन सक्दैन,’ उनले भने।

थापाले हजारौँ शिक्षकले आफ्नो कार्यक्षेत्रमा उत्कृष्ट काम गर्न सके त्यसले समुन्नत नेपाल निर्माणमा महत्त्वपूर्ण योगदान पुग्ने विश्वास पनि व्यक्त गरे।

प्रकाशित: १९ असार २०८३ १५:१५ | Friday, July 3, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 + 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast