राष्ट्रपति पौडेल, प्रथम राष्ट्रपति यादव र प्रथम उपराष्ट्रपति झाबीच भेटवार्ता

हिमाल प्रेस १५ साउन २०८३ १८:४२ | Friday, July 31, 2026
4
SHARES
राष्ट्रपति पौडेल, प्रथम राष्ट्रपति यादव र प्रथम उपराष्ट्रपति झाबीच भेटवार्ता

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले प्रथम राष्ट्रपति डा.रामवरण यादव र प्रथम उपराष्ट्रपति परमानन्द झाबीच भेट भएको छ। शुक्रबार राष्ट्रपति निवास शीतल निवासमा तीनै जनाबीच भेट भएको हो।

सुनसरीको देवानगञ्ज गाउँपालिका कप्तानगञ्जलगायत तराई–मधेशका विभिन्न जिल्लामा देखिएको विषम परिस्थितिबारे राष्ट्रपति पौडेलले प्रथम राष्ट्रपति यादव र प्रथम उपराष्ट्रपति झासँग छलफल गरेका हुन्।

छलफलमा पछिल्लो समय भइरहेको घटनाप्रति चिन्दा व्यक्त गर्दै सदियौँदेखि रहिआएको सामजिक, धार्मिक, जातीय सद्भाव, सहिष्णुता र राष्ट्रिय एकता कायम राख्न सबैले पहल गर्नुपर्ने धारणा आएको राष्ट्रपति पौडेलका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए।

प्रथम राष्ट्रपति यादवले सरकारले यो विषम परिस्थितिमा सबै राजनीतिक दल, नागरिक समाज, धार्मिक अगुवा तथा आम नागरिकको साथ लिएर समस्या समाधान गर्नतर्फ अग्रसर हुनुपर्ने बताएका थिए।

सुनसरीको देवानगञ्ज गाउँपालिकाबाट सुरू भएको साम्प्रदायिक हिंसा पछिल्लो समय मधेश प्रदेशका जिल्लाहरूमा समेत देखिन थालिएको छ। दुई समुदायबीचको विवाद थप चर्किन नदिन विभिन्न निकायका तर्फबाट पहल सुरू भएको छ।

तराई–मधेशका जिल्लाहरूमा देखिएको पछिल्लो समस्याबारे छलफल गर्न प्रधानमन्त्री वालेन्द्र शाहले बिहीबार साँझ राष्ट्रपति पौडेलसँग भेटवार्ता गरेका थिए। प्रधानमन्त्री नियुक्त भएपछि उनले पहिलोपटक राष्ट्रपति पौडेलसँग भेटवार्ता गरेका हुन्।

त्यस्तै प्रधानमन्त्री शाहले शुक्रबार मधेशकेन्द्रित दलका नेता तथा मधेशबाट प्रतिनिधित्व गर्ने रास्वपा सांसदहरूसँग छुट्टाछुट्टै छलफल गरेका थिए।

प्रकाशित: १५ साउन २०८३ १८:४२ | Friday, July 31, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast