राष्ट्रपतिले गरे नेपाल उद्योग वाणिज्य महासंघको सराहना, भने : महासंघले लिएको तत्परता, सहयोग र सहकार्य सही छ

हिमाल प्रेस २२ असोज २०८३ १२:१८ | Thursday, October 8, 2026
6
SHARES
राष्ट्रपतिले गरे नेपाल उद्योग वाणिज्य महासंघको सराहना, भने : महासंघले लिएको तत्परता, सहयोग र सहकार्य सही छ

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले समृद्ध नेपाल निर्माण सरकार वा कुनै एक क्षेत्रको मात्र प्रयासबाट सम्भव नभई राज्य, निजी क्षेत्र र समग्र समाजको साझा राष्ट्रिय संकल्पबाट मात्र सम्भव हुने बताएका छन्।

नेपाल उद्योग वाणिज्य महासंघका पदाधिकारी तथा सदस्यहरूसँगको भेट राष्ट्रपति पौडेलले समृद्ध नेपाल निर्माणको सङ्कल्पलाई व्यवहारमा रूपान्तरण गर्न निजी क्षेत्र अझ जिम्मेवार, सृजनशील र अग्रणी भूमिकामा प्रस्तुत हुने आफूले अपेक्षा राखेको बताए। उनले भने, ‘नेपालको आर्थिक समृद्धिमा निजी क्षेत्रले पुर्‍याउँदै आएको योगदानको उच्च प्रशंसा गर्दै यहाँहरूको निरन्तर सफलता र प्रगतिका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु।’

उनले नेपालको अर्थतन्त्रलाई गतिशील, उत्पादनमुखी र प्रतिस्पर्धी बनाउन सरकार र निजी क्षेत्रबिचको सहकार्य अपरिहार्य रहेको बताए। राष्ट्रपति पौडेलले नेपाल भने– ‘उद्योग वाणिज्य महासंघको सांगठनिक विस्तार र महासंघमा आबद्ध १४ लाखभन्दा बढी व्यवसायीको प्रगति समग्र देशको प्रगति हो ।

आर्थिक विकास, रोजगारी सिर्जना र नागरिकको जीवनस्तर सुधारमा यसको भूमिका अतुलनीय छ। सरकारले नीतिगत स्थिरता, लगानीको सुरक्षा, पूर्वाधार विकास, सहज प्रशासन र व्यवसायमैत्री वातावरण निर्माण गर्नुपर्छ भने निजी क्षेत्रले लगानी, उत्पादन, उद्यमशीलता, नवप्रवर्तन र रोजगारी सिर्जनालाई थप विस्तार गर्नुपर्छ । यी दुई पक्षबीचको विश्वास र सहकार्यले नै आर्थिक समृद्धिको बलियो आधार निर्माण गर्न सक्छ भन्ने म ठान्दछु।’

उनले अबको प्राथमिकता उत्पादन वृद्धि, निर्यात प्रवर्द्धन, स्वदेशी तथा विदेशी लगानी आकर्षण, रोजगारी सिर्जना र नेपाली अर्थतन्त्रको प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धिमा केन्द्रित हुनुपर्ने बताउँदै भने– ‘जलविद्युत्, पर्यटन, कृषि तथा कृषिजन्य उद्योग, सूचना प्रविधि र उत्पादनमूलक क्षेत्रमा उपलब्ध सम्भावनालाई परिणाममुखी ढङ्गले उपयोग गर्न आवश्यक छ । विशेष गरी देशको युवा जनशक्तिलाई स्वदेशमै अवसर र उद्यमका सम्भावना सिर्जना गर्नु हाम्रो साझा दायित्व हो।’

राष्ट्रपति पौडेलले डिजिटल रूपान्तरण र विश्वव्यापी प्रतिस्पर्धाको वर्तमान युगमा महासंघले आफ्नो राष्ट्रिय सञ्जाललाई अन्तर्राष्ट्रिय आर्थिक सञ्जालसँग जोड्दै नेपाली उत्पादन, सेवा र उद्यमलाई विश्व बजारमा पुर्‍याउन थप नेतृत्वदायी भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे।

उनले नेपालले हालै ठूलो प्राकृतिक विपद्को सामना गर्नुपरेको उल्लेख गर्दै विपदमा उद्धारका लागि महासंघले लिएको तत्परता, सहयोग र सहकार्यको सराहना गरे ।

प्रकाशित: २२ असोज २०८३ १२:१८ | Thursday, October 8, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast