काठमाडौँ- नेपाली कांग्रेसले भारतको विहारस्थित जेलमा रहेका सर्लाहीका दुई नेपाली किसानको शीघ्र रिहाइका लागि कूटनीतिक पहल गर्न सरकारसँग माग गरेको छ।
सो पार्टीका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालद्वारा जारी विज्ञप्तिमा सर्लाहीको बलरा नगरपालिकाका सुरेशप्रसाद सिंह र नागेन्द्रप्रसाद सिंह सीमावर्ती भारतीय बजारमा रासायनिक मल खरिद गरी फर्किने क्रममा पक्राउ परेको उल्लेख छ।
कांग्रेसले आफ्नो खेतीका लागि मल ल्याउने क्रममा पक्राउ परेका किसानको रिहाइका लागि सरकारले तत्काल पहल गर्न आग्रह गरेको छ। मानवीय आधारमा उनीहरूको अविलम्ब रिहाइ गरिदिन कांग्रेसले अनुरोध गरेको छ।
नेपाल-भारतबीचको ऐतिहासिक सम्बन्ध, खुला सीमा र दुई देशका नागरिकबीचको आत्मीयतालाई ध्यानमा राखी यस्ता संवेदनशील विषयमा तत्काल समाधान निकाल्न आग्रह विज्ञप्तिमा गरिएको छ।

