‘कांग्रेसले तीन पुस्तालाई सम्मान गरेर अघि बढ्न सक्नुपर्छ’

हिमाल प्रेस ६ साउन २०८३ १९:१८ | Wednesday, July 22, 2026
8
SHARES
‘कांग्रेसले तीन पुस्तालाई सम्मान गरेर अघि बढ्न सक्नुपर्छ’ प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बे।फाइल तस्बिर

काठमाडौँ- नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले कांग्रेसले तीनै तहका पुस्तालाई सम्मान गरेर अघि बढ्न सक्नुपर्ने बताएका छन्।

कांग्रेस चितवनले ४४ औँ बीपी स्मृति दिवसका अवसरमा आयोजना गरेको ‘लोकतन्त्रका चुनौती र हाम्रो जिम्मेवारी’ विषयक विचार गोष्ठी तथा जरा अभियान २०८३ को समापन कार्यक्रममा उनले लोकतन्त्रको रक्षाका लागि कांग्रेसले अग्रज, समकालीन र जेनजी पुस्तालाई सम्मान गरेर अघि बढ्नुपर्ने बताए।

उनले भने, ‘अहिलेको नेतृत्वले तीन पुस्ताको सम्मान गरेर लोकतन्त्रको रक्षाका लागि लड्ने समय आएको छ।’

बीपी विचारलाई सम्मान गर्दै बीपीका मार्गअनुसार अघि बढ्दै जनताको भावनाअनुसार काम गर्न आवश्यक रहेको उनको भनाइ थियो।

लोकतन्त्रको दीपलाई सबैले जोगाउनुपर्ने भन्दै उनले कांग्रेस हुनुको पहिचना गुमेको जस्तो पाटोबाट उठाएर कांग्रेसले पुर्नजीवन दिन जरुरी रहेको बताए।

कार्यक्रममा नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवं बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बाँनिया, नेपाली कांग्रेसका नेता डा. केदारनरसिंह केसी, राष्ट्रियसभा सदस्य गीता देवकोटालगायतले बीपीको विचार अनुसरण गर्न पछि पर्दा कांग्रेसमा अहिलेको अवस्था आएको बताए।

उनीहरूले कांग्रेस बलियो बनाउन बीपीको मार्ग दर्शनलाई अङ्गिकार गर्नुपर्ने बताए।

सो अवसरमा प्रजातान्त्रिक विचार समाज चितवनका सचिव डा. केशबराज चालिसेले बीपी कोइरालाको समग्र व्यक्तित्व र वामपन्थी बुद्धिजीवी रमाकान्त सापकोटाले बीपी कोइरालाको राजनीतिक व्यक्तित्वका बारेमा आफ्ना विचार राखेका थिए।

कांग्रेस चितवनका सभापति राजेश्वर खनालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रजातन्त्र सेनानी संघले सहिद बुद्धिसिंह रानाको छोरी लक्ष्मी आलेलाई नगदसहित सम्मान गरेको थियो।

प्रकाशित: ६ साउन २०८३ १९:१८ | Wednesday, July 22, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 + one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast