कांग्रेस केन्द्रीय कार्यालय। फाइल तस्बिर
काठमाडौँ- नेपाली कांग्रेसले क्रियाशील सदस्यता वितरणको समयावधि थप गरेको छ।
पार्टीका महामन्त्री एवं सदस्यता व्यवस्थापन केन्द्रीय समितिका संयोजक प्रदीप पौडेलको अध्यक्षतामा आइतबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकले क्रियाशील सदस्यता वितरणको अवधि थप गर्ने निर्णय गरेको हो।
नवीकरण गरी अद्यावधिक गर्न छुट भएका र नयाँ क्रियाशील सदस्यता फारम भर्न समयावधि थप गर्ने निर्णय भएको पार्टी कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिए।
उनका अनुसार नवीकरण गरी अद्यावधिक गर्न छुट भएका र नयाँ क्रियाशील सदस्यताका लागि आवेदन दिने समय साउन ३ गतेसम्म थप गरिएको छ। यसअघि यो समय असार २० गतेसम्म कायम गरिएको थियो।
‘वर्षायामका कारण वडा तहदेखि क्षेत्रीय तहसम्म सदस्यता सम्बन्धी आवश्यक प्रक्रिया सम्पन्न हुन बाँकी रहेको, साथै अधिकतम नयाँ क्रियाशील सदस्यता विस्तारका लागि वडा तहसम्म पर्याप्त सूचना प्रवाह गर्ने कार्य समेत जारी रहेकाले सम्बन्धित जिल्लामा खटिनु भएका केन्द्रीय प्रतिनिधिहरूबाट प्राप्त सुझावका आधारमा उक्त समायवधि २०८३ साउन ३ गतेसम्मका लागि थप गरिएको छ,’ दुलाले जारी गरेको विज्ञप्तिमा भनिएको छ।
क्रियाशील सदस्यता अद्यावधिक र वितरण सम्बन्धमा कुनै समस्या वा गुनासो प्राप्त भएको अवस्थामा सम्बन्धित जिल्लामा खटिएका केन्द्रीय प्रतिनिधिलाई सदस्यता व्यवस्थापन केन्द्रीय समितिमा सिफारिस गर्न भनिएको छ।
सिफारिसका आधारमा सदस्यता व्यवस्थापन केन्द्रीय समितिले क्रियाशील सदस्यता अद्यावधिकको आवश्यक व्यवस्था मिलाउने जनाइएको छ।




