प्रहरीले दमन गरेको माजिदको आरोप, कानुनी लडाइँ लड्ने घोषणा

हिमाल प्रेस ३२ असार २०८३ १२:४४ | Thursday, July 16, 2026
6
SHARES
प्रहरीले दमन गरेको माजिदको आरोप, कानुनी लडाइँ लड्ने घोषणा

काठमाडौँ- जेनजी अभियन्ता माजिद अन्सारीले कीर्तिपुर होल्डिङ सेन्टरमा बाढी प्रभावित सुकुम्बासीको व्यवस्थापनमा सहयोग गर्न जाँदा आफूमाथि नेपाल प्रहरीले गरेको बर्बर दमन र कुटपिटविरुद्ध कानुनी लडाइँ लड्ने बताएका छन् ।

अस्पतालबाट डिस्चार्ज भएपछि एक विज्ञप्ति जारी गर्दै अन्सारीले आफूलाई गैरकानुनी रूपमा बन्दी बनाई चरम शारीरिक तथा मानसिक यातना दिएको बताए ।

अन्सारीका अनुसार कीर्तिपुरमा बाढी पीडितको सेवामा खटिएका बेला एक ‘गैर–निर्वाचित व्यक्तिको आदेश’ मा प्रहरीले उनलाई र उनका साथीहरूलाई घेरा हालेर कुटपिट गरेको थियो । क्यामेराले नदेख्ने ठाउँमा लगेर १०–१२ जना प्रहरीले अन्धाधुन्ध प्रहार गर्दा आफू गम्भीर घाइते भएको उनले उल्लेख गरेका छन् ।

उपचारका लागि कीर्तिपुर अस्पताल हुँदै त्रिवि शिक्षण अस्पताल पुर्‍याइएका अन्सारीले त्यहाँ पनि गृह मन्त्रालय र प्रहरीको प्रत्यक्ष निगरानीमा आफूमाथि अन्याय भएको दाबी गरेका छन् । ‘मेरो मेडिकल हिस्ट्रीमा प्रहरी कुटपिट भन्ने शब्द समेत लेख्न नदिन कोसिस गरियो,’ उनले भनेका छन्, ‘क्याबिनभित्रै सादा पोसाकका प्रहरी आएर जमानीमा हस्ताक्षर नगरे अभद्र व्यवहारको मुद्दा चलाउने धम्की दिइयो ।’

अन्सारीले आफूलाई करिब ३–४ दिनसम्म प्रहरी निगरानीमा राखेर मानसिक दबाब दिइएको र स्वतन्त्रतापूर्वक उपचार पाउने हकबाट समेत वञ्चित गर्न खोजिएको बताएका छन् ।

हाल अस्पतालबाट डिस्चार्ज भई चिकित्सकको सल्लाहमा ुबेड रेस्टुमा रहेका अन्सारीले स्वास्थ्य सामान्य भएपछि आफूमाथि भएको नियोजित घेराबन्दी र यातनाका विरुद्ध कानुनी लडाइँ लड्ने स्पष्ट पारेका छन् ।

प्रकाशित: ३२ असार २०८३ १२:४४ | Thursday, July 16, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven − ten =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast