नेपाली कांग्रेसका सभापति गगनकुमार थापा/ फाइल तस्बिर
काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगन थापाले वर्तमान सरकारलाई लाइफभन्दा लाइकको बढी चिन्ता रहेको टिप्पणी गरेका छन्। पार्टी कार्यालय सानेपामा आयोजित कार्यक्रममा सरकारको सयदिने कार्यको समीक्षा गर्दै उनले यस्तो बताएका हुन्।
सरकार जनजिवीकाको सवालभन्दा बढी लोकप्रियतामा रमाउन खोजेको उल्लेख गरे।
‘लाइफभन्दा उसलाई लाइकको बढी चिन्ता रहेको हामी पाउँछौँ, वास्तविक जनजीविकाको सवालभन्दा पनि लोकप्रियताको कुरा त्यो पनि भर्चुअल तालीको कुरा,’ थापाले भने।
उनले कानुन बनाएर भूमिहीनको समस्या समाधान गर्न सकिए पनि सरकारले लोकप्रियताका लागि जबरजस्तीको बाटो रोजेको जिकिर गरे।
‘भूमिहीनको समस्या समाधान गर्न अघिल्लो सरकारकै पालामा कानुन बनिसकेको थियो, प्रतिनिधिसभाबाट पास भएर राष्ट्रियसभामा पारित गर्न बाँकी थियो। कानुन निर्माण प्रक्रियामा रास्वपाकै सांसदहरु सहभागी हुनुहुन्थ्यो मलाई स्मरण छ,’ थापाले भने,‘कानुन बनाएरै भूमिहीनको समस्या हल गर्न सकिन्थ्यो। तर, त्यसो गर्दा सोशल मिडियामा लाइक आउँदैन थियो होला, किनभने समस्याको हल हुन्थ्यो, समस्या नै नरहे लाइक आउने कुरा नै भएन।’
परिणाम दिने नाममा सरकारले एकपछि अर्को प्रक्रिया मिचिरहेको उनले आरोप लगाए। कानुनी शासनमा कुनै पनि व्यक्तिले विधि र शासन मिच्न नपाउने उनको भनाइ छ।
सभापति थापाले बजारले आत्मविश्वास गुमाएकोले अर्थतन्त्र चलायमान हुन नसकेको उल्लेख गरे। सरकारको व्यवहारका कारण व्यवसायीहरुबीच त्रासको वातावरण सिर्जना भएकाले लगानीको वातावरण खस्किएको उनले जिकिर गरे।
थापाले प्रधानमन्त्री वालेन्द्र शाहको काम गर्ने शैलीमा सिंहदरबार र बालुवाटारमा धेरै फरक देखिएको भन्दै प्रशंसा गरे।
‘प्रधानमन्त्रीजीको काम गर्ने शैलीमा हामीले के अवजर्भ गर्यौँ भने सिंहदरबार र बालुवाटारमा धेरै फरक देखिन्छ,’ उनले भने,‘सिंहदरबारमा बसेर प्रधानमन्त्रीको जुन जिम्मेवारी छ, शासकीय जिम्मेवारी छ, शासकीय जिम्मेवारी प्राथमिकतामा परेको छ। प्रधानमन्त्रीको फोकस शासकीय कामतिर छ।’
उनले सरकारले सार्वजनिक गरेको आफ्नो सय दिनको उपलब्धिका विषयमा पार्टीका सांसदहरूलाई प्रतिनिधिसभा र राष्ट्रियसभामा छलफल गर्न निर्देशन दिए।
रास्वपाले अहिले प्राप्त गरेको प्रचण्ड विगतमा पनि दलहरूले प्राप्त गरिसकेको स्मरण गराउँदै उनले यसखाले बहुमत तत् दलहरुका लागि मात्रै नभएर प्रणालीका लागि पनि सुखद नरहेको बताए।




