काठमाडौँ- एसीसी यू १९ महिला प्रिमियर कपमा नेपालले कतारमाथि सानदार जितबाट सुरुवात गरेको छ। नेपालले कतारलाई १०५ रनको फराकिलो अन्तरले पराजित गरेको हो।
टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर १३० रन बनाएको थियो । नेपालका लागि साबित्री धामीले सर्वाधिक ५२ रन बनाइन् । सना प्रविणले २७ रन जोडिन् भने अञ्जिला पाठक २३ रनमा अविजित रहिन् । कप्तान सोनी पाख्रिन भने खाता नै खोल्न नसकी आउट भइन्।
१३१ रनको लक्ष्य पछ्याएको कतार नेपाली बलरहरूको कसिलो आक्रमणअघि निरीह बन्यो । कतारको टोली १२ ओभरमै २५ रनमा अलआउट भयो । कतारका कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्। टोलीका लागि सर्वाधिक रन ४ मात्र रह्यो ।
नेपालका लागि रचना चौधरीले ३ ओभरमा २ रन मात्र दिएर ३ विकेट लिइन् । रिया शर्माले ३ ओभरमा ६ रन दिएर ३ विकेट लिइन् । मनिषा उपाध्यायले २ तथा अनु कडायतले १ विकेट लिए ।
नेपालले अब दोस्रो खेलमा भोलि सिंगापुरसँग खेल्नेछ ।



