संयुक्त राज्य अमेरिकाको रक्षा मन्त्रालय (पेन्टागन) ले जुलाईमा इरानविरुद्ध पुनः सैन्य कारबाही सुरु भएयता चार अमेरिकी सैनिकको मृत्यु र २०७ जना घाइते भएको जनाएको छ।
पेन्टागनले आइतबार अद्यावधिक गरेको ‘डिफेन्स क्याजुअल्टी एनालाइसिस सिस्टम’ का अनुसार जुलाई २५ सम्म इरानविरुद्ध सञ्चालन गरिएको अमेरिकी सैन्य अभियान ‘एपिक फ्युरी’ का क्रममा १४ अमेरिकी सैनिकको मृत्यु भएको र ४१७ जना घाइते भएका छन्।
पेन्टागनले हालै उक्त तथ्यांक प्रणालीमा ‘ओभरसिज अपरेसन्स’ नामक नयाँ श्रेणी थपेको छ। यसमा जुलाई ७ यताका अमेरिकी सैन्य हताहतीलाई छुट्टै राखिएको छ।
नयाँ श्रेणीमा मृतक सैनिकको नाम मात्र समावेश गरिएको छ। उनीहरूको मृत्यु वा सैनिक घाइते भएको समय, स्थान र कारणबारे विस्तृत विवरण भने दिइएको छैन।
इरानसँगको द्वन्द्वको नयाँ चरणमा चारै सैनिकको मृत्यु भएको पुष्टि भए पनि घाइते भएका सबै सैनिक इरानसँगको द्वन्द्वसँग सम्बन्धित छन् वा छैनन् भन्नेबारे पेन्टागनले स्पष्ट पारेको छैन।
अमेरिकी कानूनअनुसार कंंग्रेसको अनुमतिबिना राष्ट्रपतिले सामान्यतया अमेरिकी सेनालाई ६० दिनभन्दा बढी समयसम्म शत्रुतापूर्ण कारबाहीमा सङ्लग्न गराउन पाउँदैनन्।
सञ्चारमाध्यमका अनुसार ट्रम्प प्रशासनले जुलाई १० मा कंंग्रेसलाई पठाएको पत्रमा जुलाई ७ मा हर्मुज हुँदै गइरहेका तीन व्यापारिक पानीजहाजमाथि इरानले गरेको आक्रमणले यसअघिको युद्धविराम सम्झौताको उल्लंघन गरेको जनाएको थियो।
यसै आधारमा ह्वाइट हाउसले जुलाई ७ लाई इरानसँगको शत्रुतापूर्ण कारबाहीको नयाँ चरण सुरु भएको मितिका रूपमा परिभाषित गरेको जनाइएको छ।


