लुम्बिनीको मुख्यमन्त्रीमा चेतनारायण आचार्यलाई नै निरन्तरता

हिमाल प्रेस १४ साउन २०८३ १५:४८ | Thursday, July 30, 2026
लुम्बिनीको मुख्यमन्त्रीमा चेतनारायण आचार्यलाई नै निरन्तरता चेतनारायण आचार्य

बुटवल– लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा चेतनारायण आचार्यलाई नै निरन्तरता दिइने भएको छ। नेकपा एमाले र नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बीच सत्ता सहकार्यको सहमति भएपछि मुख्यमन्त्री परिवर्तन हुने चर्चा चले पनि आचार्यलाई नै नेतृत्वमा निरन्तरता दिने सहमति भएको हो।

स्रोतका अनुसार एमाले अध्यक्ष केपी शर्मा ओली, पार्टी उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोख्रेल, मुख्यमन्त्री चेतनारायण आचार्य र पूर्वमुख्यमन्त्री लीला गिरीबीच भक्तपुरको गुण्डुमा भएको छलफलले आचार्यलाई नै मुख्यमन्त्रीमा निरन्तरता दिने निष्कर्ष निकालेको हो।

यससँगै एमाले र नेकपाबीच मन्त्रालयको बाँडफाँट, मन्त्रीहरूको जिम्मेवारी तथा सरकारको साझा कार्ययोजनाबारे औपचारिक छलफल अघि बढ्ने भएको छ।

मन्त्रालयको संख्या पुनर्संरचना भइसकेकाले दुवै दलबीच कुन मन्त्रालय कसले लिने भन्ने विषयमा गृहकार्य सुरु हुने जनाइएको छ।

हाल प्रदेश सरकारमा मुख्यमन्त्री आचार्यसहित एमालेका पाँच जना मन्त्री छन्। नेपाली कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि कांग्रेसका मन्त्रीहरूले राजीनामा दिएका थिए। त्यसपछि एमाले र नेकपाले नयाँ सत्ता समीकरण बनाउने सहमति गरेका हुन्।

सहमतिअनुसार अब नेकपाबाट सरकारमा सहभागी हुने मन्त्रीहरूको टुंगो लगाइनेछ भने मन्त्रिपरिषद् पुनर्गठन केही दिनभित्रै हुने तयारी छ।
८७ सदस्यीय लुम्बिनी प्रदेशसभामा हाल ८३ सांसद छन्। तीमध्ये एमालेका २९, कांग्रेसका २७, नेकपाका १३ (सभामुखसहित), जसपा नेपालका २, राप्रपाका ४, जनमत पार्टीका ३, लोसपाका दुई तथा जसपा, राष्ट्रिय जनमोर्चा र स्वतन्त्रका एकएक सांसद छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast