काठमाडौँ- नेपाली कांग्रेसले सातै प्रदेशमा नेकपा एमालेसँगको सत्ता सहकार्य तोड्ने भएको छ। एमालेसँगको सत्तासमीकरण तोडेर नयाँ राजनीतिक गठबन्धनतिर अगाडि बढ्ने निष्कर्षमा कांग्रेस पुगेको हो।
कांग्रेसका एक पदाधिकारीले एमालेसँगको जारी सहकार्य अन्त्य गरेर नयाँ विकल्पतिर बढ्ने निष्कर्षमा पुगेको बताए।
‘एमालेसँगको गठबन्धन तोड्ने निष्कर्षमा पुगेका छौँ,’ ती पदाधिकारीले हिमालप्रेससँग भने,‘कोर्स त्यही दिशामा अगाडि बढेको छ। अहिले त्यही विषयमा छलफल चलिरहेको छ।’
जेनजी आन्दोलनलाई हेर्ने दृष्टिकोणमा कुरा नमिल्नु र प्रदेश सरकारमा एमालेको व्यवहारप्रति असन्तुष्टि बढेपछि सहकार्य तोड्ने निष्कर्षमा कांग्रेस पुगेको बताइएको छ।
यो निष्कर्षसँगै सरकारमा सहभागी प्रदेशमा कांग्रेसले आफ्नो मन्त्री फिर्ता बोलाउने तयारी गरेको छ। कर्णाली प्रदेश सरकारमा सहभागी कांग्रेसका सबै मन्त्रीहरूले बुधबार राजीनामा दिइसकेका छन्।
उता सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले बुधबार नै सरकारमा सहभागी एमालेका सबै मन्त्रीहरूलाई बर्खास्त गरेका छन्। यहाँ कांग्रेसको नेतृत्वमा सरकार छ।
एमालेको नेतृत्वको सरकार रहेका लुम्बिनी र कोशीमा भने तत्काल कुनै हेरफेर भएको छैन। बागमती, मधेश र गण्डकीमा अहिले सरकारको नेतृत्व कांग्रेसले गरिरहेको छ।
एमालेसँग सहकार्य तोड्ने भएपछि कांग्रेसले अब नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सँग राजनीतिक समीकरण बनाउने तयारी गरेको छ।
‘एमालेसँग सहकार्य नहुने निश्चित नै भइसक्यो,’ कांग्रेसका ती पदाधिकारीले भने,‘अब नेकपासँग छलफल गरेर आपसी समझदारीमा सरकार गठनको प्रक्रिया अगाडि बढ्ला।’
सातै प्रदेशमा आपसी समझदारीका आधारमा सरकारको नेतृत्व बाँडफाँट गर्ने तयारीमा दुवै दल रहेको बताइएको छ। समझदारी नजुटे विपक्षमा बस्ने रणनीति कांग्रेसको छ।
मंगलबार कांग्रेसका सभापति गगन थापा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भएको भेटमा यो विषयमा छलफल भएको थियो।



