सप्तरीमा सर्वदलीय बैठक : सामाजिक सद्भाव कायम राख्न आग्रह

हिमाल प्रेस १४ साउन २०८३ १७:०९ | Thursday, July 30, 2026
8
SHARES
सप्तरीमा सर्वदलीय बैठक : सामाजिक सद्भाव कायम राख्न आग्रह तस्बिर एआई निर्मित

जनकपुरधाम- सप्तरीमा आज बसेको सर्वदलीय तथा सरोकारवालाको बैठकले सामाजिक सद्भाव, शान्ति र सुरक्षा कायम राख्न आह्वान गरेको छ।

बैठकले सामाजिक सञ्जालमार्फत अफवाह फैलाउने, धर्मिक आस्था, संस्कृति वा समुदायलाई लक्षित गरी घृणायुक्त अभिव्यक्ति दिने, अमर्यादित टिप्पणी गर्ने तथा सामाजिक सद्भाव बिगार्ने गतिविधि नगर्न सबै पक्षलाई आग्रह गरेको हो।

राजनीतिक दल, स्थानीय तहका प्रमुख तथा अध्यक्ष, पत्रकार, नागरिक समाज, बुद्धिजीवी र अभिभावकले आआफ्नो ठाउँबाट संयमता अपनाउनुपर्नेमा जोड दिँदै बैठकले सुनसरी घटनालाई आधार बनाएर सप्तरीमा हुन सक्ने प्रदर्शन,अराजक गतिविधिबाट थप क्षति र अप्रिय अवस्था सिर्जना हुन नदिन सरोकारवालाले अभिभावकमार्फत आफ्ना सन्तानलाई शान्ति, सुरक्षा, सद्भाव र अनुशासनको सन्देश दिनुपर्ने निर्णय भएको सप्तरीका प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण श्रेष्ठले जानकारी दिए।

बहुजातीय, बहुभाषिक र बहुधार्मिक पहिचानलाई कायम राख्दै सामाजिक एकता सुदृढ बनाउन वातावरण निर्माण गरिने पनि निर्णयमा उल्लेख गरिएको छ।

त्यसैगरी विद्यालय तथा क्याम्पसमा अध्ययनरत विद्यार्थी कुनै प्रकारका उच्छृङ्खल गतिविधिमा संलग्न हुन नदिन क्याम्पस प्रमुख, प्रधानाध्यापक तथा शिक्षक शिक्षिकाले विशेष पहल गर्ने निर्णय गरिएको छ।

बैठकले प्रदर्शनमा बालबालिकाको प्रयोग पूर्ण रूपमा नियन्त्रण गर्नुपर्नेमा पनि सहमति जनाएको छ।

जिल्लामा विभिन्न जातजाति, भाषाभाषी, धर्म र समुदायबीच आपसी एकता, सहिष्णुता र भ्रातृत्व कायम राख्न स्थानीय तहसम्म सद्भाव र्‍याली तथा संवाद कार्यक्रम सञ्चालन गरिने निर्णय गरिएको छ।

सुनसरी घटनाको पारदर्शी र निष्पक्ष छानबिन गरी दोषीमाथि कानुनी कारबाही गर्न तथा पीडित पक्षलाई क्षतिपूर्ति र घाइतेहरूको उपचारको व्यवस्था गर्न सम्बन्धित निकायसमक्ष अनुरोध गर्ने निर्णय गर्दै बैठकले सामाजिक सद्भावमा आँच पुग्न सक्ने गतिविधिप्रति सजग रहन सबै नागरिकलाई आग्रह गर्ने निर्णय गरेको जनाएको छ।

प्रकाशित: १४ साउन २०८३ १७:०९ | Thursday, July 30, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine − six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast