जेनजी मोभमेन्ट एलाइन्स मधेश संयोजक नइम राइन।
काठमाडौँ- सप्तरीको राजविराजमा चोरीको घटनामा वास्तविक अपराधीलाई उन्मुक्ति दिई निर्दोष व्यक्तिलाई पक्राउ गरिएको भन्दै जेनजी मोभमेन्ट एलाइन्सले गम्भीर आपत्ति जनाएको छ। गत चैत २२ गते राति भएको चोरीको घटनामा प्रहरी प्रशासनद्वारा न्यायपूर्ण आवाज उठाउने मुस्लिम जेनजीका सक्रिय सदस्य मुस्तकिम आलमविरुद्ध सुनियोजित रूपमा ज्यान मार्ने षड्यन्त्र रचिएको घटना भन्दै एलाइन्सले गम्भीर ध्यानाकर्षण जनाएको हो।
राजविराजमा चोरी प्रकरणको त्रुटिपूर्ण अनुसन्धान र प्रहरीको कार्यशैलीप्रति असहमति जनाउँदै मुस्तकिम आलमले मिति २०८२ चैत ३० गते आफ्नो फेसबुक पेजमार्फत सार्वजनिक सरोकारको विषयमा आवाज उठाएका थिए। सोही विषयलाई लिएर मिति २०८३ वैशाख १ गते राति जिल्ला प्रहरी प्रमुखले बिक्की सिंह नामक व्यक्तिसँगको संवादमा आलमलाई “मार्नुपर्छ” भन्दै साम्प्रदायिक र अश्लील शब्द प्रयोग गरी योजना बनाएको अडियो प्रमाणहरू सार्वजनिक गरेको एलाइन्सले जनाएको छ। आफ्नो ज्यानको सुरक्षाको माग गर्दै आलमले पुनः आवाज उठाउँदा समेत राज्यको जिम्मेवार निकायबाट संरक्षण हुनुको साटो उल्टै धाकधम्की र साम्प्रदायिक विभेद सहनुपर्नु लोकतन्त्र र कानुनी शासनको विरुद्ध रहेको एलाइन्सको ठहर छ। आलमको रिहाइसहित विभिन्न माग राखेर एलाइन्सले आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ।
मागहरू:
१. तत्काल सुरक्षाको प्रत्याभूति: पीडित मुस्तकिम आलमको जीउधनको सुरक्षाको पूर्ण ग्यारेन्टी तत्काल राज्य र स्थानीय प्रशासनले गरोस्।
२. पदबाट निलम्बन र छानबिन: पदीय मर्यादाको उल्लंघन गर्दै हत्याको योजना बुन्ने र साम्प्रदायिक सद्भाव बिथोल्ने अभिव्यक्ति दिने सम्बन्धित प्रहरी उपरीक्षक (SP) लाई तत्काल पदबाट निलम्बन गरी ‘फौजदारी कसुर’ अन्तर्गत उच्च स्तरीय न्यायिक छानबिन गरियोस्।
३. अडियो प्रमाणको परीक्षण: सार्वजनिक भएका अडियो रेकर्डिङहरूको विधिविज्ञान प्रयोगशाला (Forensic Lab) मा परीक्षण गरी सत्यतथ्य बाहिर ल्याइयोस् र दोषीमाथि ‘ज्यान मार्ने उद्योग’ को कसुरमा कारबाही प्रक्रिया अगाडि बढाइयोस्।
४. न्यायिक अनुसन्धान: राजविराज चोरी प्रकरणमा वास्तविक अपराधीको पहिचान गरी निर्दोषलाई तत्काल ससम्मान रिहा गरियोस्।
नागरिकको वाक स्वतन्त्रता र बाँच्न पाउने हकको रक्षा गर्नु राज्यको प्राथमिक दायित्व हो। यदि यो गम्भीर मानव अधिकार उल्लंघनको घटनामा संलग्न दोषीमाथि तत्काल कानुनी कारबाही नगरिएमा हामी कडा आन्दोलनका कार्यक्रमहरू घोषणा गर्न बाध्य हुनेछौँ।



